
पर्सा ,१२ कात्तिक। पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीय लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना लुटेको आरोपमा पक्राउ परेका तीन जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतले थुनछेक बहसपछि धोबिनी–५ निवासी २१ वर्षीय चन्दनकुमार पटेलसहित १७ र १५ वर्षका दुई बालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरूमाथि वृद्धाको हत्या गरी घरबाट नगद तथा गरगहना चोरी गरेको आरोप छ ।
गत असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी आफ्नै घरको दोस्रो तलास्थित कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरी अनुसन्धानअनुसार असोज ४ गते राति चोरी गर्ने उद्देश्यले आरोपितहरू वृद्धाको घरमा प्रवेश गरेका थिए । घरको बाकसको ताला फुटाउने क्रममा आवाज सुनेर माथिल्लो तलामा पुगेकी लखरजिया देवीले उनीहरूलाई देखेपछि हत्या गरिएको र घरमा रहेको नगद तथा गरगहना लुटेर फरार भएको प्रहरीको दाबी छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चोरी भएको भनिएको सुनका दुई थान चुरा, केही नगद, प्लास, दुई थान चक्कु तथा घटनासँग सम्बन्धित अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको थियो ।
यसअघि प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । अहिले अदालतको आदेशपछि उनीहरूविरुद्धको मुद्दा थप न्यायिक प्रक्रियामा अघि बढ्नेछ ।
मुद्दामा जाहेरवालाका तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता आनन्द न्यौपाने तथा अधिवक्ताहरू केसी लामिछाने, आकाश महतो, औरन्जेब अहमद र मेराज अन्सारीले बहस गरेका थिए ।
अदालतको आदेश पुर्पक्षका लागि थुनामा राख्ने निर्णय हो, अन्तिम दोषसिद्धि होइन। मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।
