घाँस काट्ने क्रममा लडेका वृद्धको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
घाँस काट्ने क्रममा लडेका वृद्धको मृत्यु

बारा,१८ कात्तिक। बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।

प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः १० बजे आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा थिङ अचानक लडेका थिए। रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः ४९ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमान्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा पाँच सदस्यीय सोको सहितको टोली समेत खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार बिहान ९ः ३७ बजे घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस