१२औँ शताब्दीको मञ्जुश्री मूर्तिको मूल्य २ अर्ब ३७ करोड, हङकङमा लिलामी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
१२औँ शताब्दीको मञ्जुश्री मूर्तिको मूल्य २ अर्ब ३७ करोड, हङकङमा लिलामी

काठमाडाैँ ,१८ कात्तिक।  १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ डलर (करिब  दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।

क्रिस्टीज लिलामी गृहमा भएको लिलामीमा लामो समयसम्म प्रतिस्पर्धात्मक बोली चलेपछि उक्त मूर्ति अनुमानित न्यूनतम मूल्यभन्दा दोब्बरभन्दा बढीमा बिक्री भएको हो ।

यस बिक्रीसँगै हिमालय क्षेत्रमा निर्मित सुनौलो जलप लगाइएको कांस्य मूर्तिको लिलामीमा नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो मूर्ति यस लिलामी सत्रमा सबैभन्दा उच्च मूल्यमा बिक्री भएको कलाकृतिसमेत बनेको छ ।

९३ सेन्टिमिटर अग्लो उक्त मूर्ति नेपालको ऐतिहासिक नेवार कलात्मक परम्परामा निर्माण गरिएको हो । धातुका कलाकृति निर्माणमा उत्कृष्ट मानिने लिच्छविकालिन कला परम्पराले हिमालय क्षेत्रको बौद्ध कलामा गहिरो प्रभाव पारेको छ ।

मूर्तिमा पारलौकिक प्रज्ञाका बोधिसत्त्व मञ्जुश्रीलाई चित्रण गरिएको छ । उनको काँधनजिक फुलेको कमलको फूलमाथि राखिएको प्रज्ञापारमिता सूत्र (ज्ञानको पुस्तक) का आधारमा मूर्तिमा मञ्जुश्रीको पहिचान गरिएको हो ।

सन् २००२ सम्म उक्त मूर्ति स्विट्जरल्यान्डको जेनेभास्थित जर्ज अर्टिज सङ्ग्रहको हिस्सा रहेको अभिलेख भेटिएको छ । त्यसपछि यो निजी संग्रहकर्ता मार्फत न्युयोर्क र एसियाका विभिन्न व्यक्तिको हातमा पुगेको थियो ।

मूर्तिको ऐतिहासिक लिलामीपछि नेपालको पुरातात्विक सांस्कृतिक सम्पदाको संरक्षण र अभिलेखीकरणबारे अन्तर्राष्ट्रिय स्तरमा पुनः बहस सुरु भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस