आजदेखि विधिवत् रूपमा छठ पर्व सुरु

आजदेखि विधिवत् रूपमा छठ पर्व सुरु

पवन कुमार उपाध्याय 

रौतहट,२७ कात्तिक।  तराई मधेशको महान् लोकआस्थाको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। सत्य, निष्ठा, पवित्रता, आत्मसंयम र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा मनाइने छठ पर्वको पहिलो दिन आजदेखि जिल्लाभरका व्रतालुहरू पूजाको तयारीमा जुटेका छन्।

विशेषगरी मधेश प्रदेशसहित तराईका जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व रौतहटमा पनि धार्मिक श्रद्धा, उत्साह र भक्तिभावका साथ मनाइँदै छ। यस पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।

छठ पर्व चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइन्छ। पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ विधिबाट छठको सुरुवात भएको छ। यस दिन व्रतालुहरूले पवित्र स्नान गरी घर तथा पूजास्थलको सरसफाइ गर्ने, शुद्ध र सात्त्विक भोजन ग्रहण गर्ने तथा शरीर र मनलाई शुद्ध बनाउने धार्मिक परम्परा रहेको छ।

त्यस्तै, कार्तिक २८ गते शनिबार दोस्रो दिन ‘खरना’ मनाइनेछ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरेपछि खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गर्नेछन्। खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरूको कठिन निर्जला उपवास सुरु हुनेछ।

कार्तिक २९ गते आइतबार तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ। यस दिन व्रतालुहरू पूजाका सामग्री, फलफूल, नरिवल, ठेकुवा, भुसुवा, उखु तथा विभिन्न प्रसाद बाँसका ढाकी र सुपलीमा सजाएर नजिकका नदी, पोखरी, तलाउ तथा छठ घाटमा पुग्नेछन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै परिवार तथा समाजको सुख, शान्ति र समृद्धिको कामना गरिनेछ।

पर्वको अन्तिम दिन कार्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ। बिहानै व्रतालुहरू छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने कठिन व्रत विधिवत् रूपमा सम्पन्न हुनेछ।

रौतहटका नदी, पोखरी तथा छठ घाटमा विशेष चहलपहल

छठ पर्वलाई लक्षित गर्दै रौतहट जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका नदी, पोखरी, तलाउ र परम्परागत छठ घाटहरूमा सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ। गरुडा नगरपालिका, गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिका, ईशनाथ नगरपालिका, बौधिमाई नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका, वृन्दावन नगरपालिका र यमुनामाई गाउँपालिकालगायतका क्षेत्रमा छठ पर्वको विशेष रौनक देखिन्छ ।

गरुडा क्षेत्रको चाँदी नदी झाझ किनार आसपासका विभिन्न पोखरी र छठ घाटहरूमा श्रद्धालुहरूको सुविधाका लागि सरसफाइ, घाट निर्माण, प्रकाश, सजावट तथा अन्य व्यवस्थापनमा स्थानीयवासी जुटेका छन्।

स्थानीय युवा, सामाजिक संघसंस्था,प्रहरी तथा सर्वसाधारणले आ–आफ्नो क्षेत्रका छठ घाट सफा गर्ने, नदी तथा पोखरी किनार व्यवस्थित गर्ने, सरसफाइ अभियान सञ्चालन गर्ने र घाटलाई आकर्षक रूपमा सजाउने काम गरिरहेका छन्। कतिपय स्थानमा श्रद्धालुहरूको सहजताका लागि अस्थायी घाट निर्माण, विद्युत् बत्ती, खानेपानी तथा सुरक्षाको व्यवस्थासमेत मिलाउने तयारी भइरहेको छ।

आस्था संस्कृति र सामाजिक सद्भावको अनुपम पर्व

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक एकता, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। यस पर्वमा जातजाति, धर्म, वर्ग र समुदायबीचको विभेदभन्दा माथि उठेर सबैले एकअर्कालाई सहयोग गर्ने तथा एउटै घाटमा भेला भएर सूर्यदेवको आराधना गर्ने परम्परा रहेको छ।

छठमा बाँसबाट बनेका ढाकी, सुपली, माटोका भाँडाकुँडा, उखु, केरा, नरिवल, अदुवा, बेसार, स्याउ, सुन्तला तथा विभिन्न मौसमी फलफूल र घरमै तयार पारिएका प्रसादको विशेष महत्त्व हुन्छ। ठेकुवा र भुसुवा छठ पर्वका प्रमुख प्रसादका रूपमा परिचित छन्। यी सामग्रीले स्थानीय कृषि उत्पादन, घरेलु सीप र परम्परागत संस्कृतिको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएका छन्।

यस पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गर्नु हो। यसले जीवनमा सुख दुःख, सफलता असफलता तथा उतारचढावलाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देशसमेत दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ।

छठ पर्वलाई स्वच्छता र प्रकृतिको सम्मानसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। नदी, पोखरी तथा जलाशयको सरसफाइ गर्दै पूजा गर्ने परम्पराले जलस्रोत संरक्षण र वातावरणीय स्वच्छताको महत्त्वलाई उजागर गर्छ।

जिल्लामा छठ पर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सर्वसाधारणबीच सहकार्य आवश्यक देखिन्छ। विशेषगरी छठ घाटमा भीडभाड व्यवस्थापन, नदी तथा पोखरीमा सुरक्षा सतर्कता, विद्युत् व्यवस्थापन, सरसफाइ र ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।

चार दिनसम्म श्रद्धा, निष्ठा र कठिन व्रतका साथ मनाइने छठ पर्वले रौतहटको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ। सूर्यदेव र छठी माताको आराधनासँगै जिल्लाभर सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम होस् भन्ने कामनासहित श्रद्धालुहरू छठ पर्व मनाउने तयारीमा जुटेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस