
रौतहट, २१ साउन। रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पूर्व-पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ । दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आज बिहान करिब साढे ५ बजे बाराको अमलेखगञ्ज बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो ।
पेट्रोल बोकेको सो ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
