ओम प्रकाश यादव
गरुडा समाचारदाता
रौतहटमा अबैध लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नाईट्रोभेट टयाबलेट सहित जिल्लाको गौर नगरपालिका वडा नं. ४ टिकुलियाका १९ वर्षिय सन्तोष ठाकुरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले शनिवार साँझ ७ बजेको समयमा एक रात्री बसमा सवार रहेको अवस्थामा ठाकुरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
जिल्लाको यमुनामाई गाँउपालिका वडा नं. ५ बमनहरमा पैदल यात्रु तथा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौ तर्फ गईरहेको ना ७ ख १९४१ नम्बरको यात्रुबाहक रात्री बसलाई रोकी चेकजाँच गर्दा सोही बसमा सवार रहेका ठाकुरलाई लागुऔषध सहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।
ठाकुरको साथबाट १ सय २ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजोपाम एम्पुल बरामद भएको डिएसपी चिमोरियाले बताए ।
ठाकुरले आफना पाईन्टको खल्तीमा लुकाएर राखेकोे अवस्थामा लागुऔषध फेलापरेपछि उनलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत गौरबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।