ओम प्रकाश यादव
गरुडा समाचारदाता
भदौ २१ गते, रौतहट ।
रौतहटको गरुडा र गढिमाई नगरपालिकालाई जोडने मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।
दुवै नगरपालिकालाई जोडने मुख्य सडकको रुपमा रहेको गरुडा समनपुर सडकखण्डको विभिन्न ठाउँमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।
गरुडा समनपुर सडकको विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् ।
दैनिक हजारौं सवारी साधन आवागमन गर्ने सो सडक भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
असार साउन महिनाको अबिरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।
गरुडा देखी मलाहीटोल र सुन्दरपुर देखी समनपुरको विचमा विभिन्न ठाउँमा सडकको कालोपत्रे फुटेर ठूल–ठूला खाल्डाखुल्डी भएको छ । सो खाल्डाखुल्डीमा अहिले वर्षाको पानी जमेको छ जस्का कारण दिनहँुजसो सवारी दुर्घटना भइरहेको छ । सडकको अवस्था सुधार नहुँदा सर्वसाधारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन ।
खाल्डाखुल्डीका कारण उक्त सडकको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । ठूल–ठूला खाल्डाखुल्डीले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।
वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेका छन् । मुख्य सडकमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् ।
उक्त सडकको अवस्था जिर्ण भइ दुर्घटनाको जोखिम बढेपनि गरुडा नगरपालिकाका मेयर इनुराय यादव र गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सडक मर्मत सम्भार गर्न कुनै चासो लिएका छैनन ।