। ओम प्रकाश यादव गरुडा समाचारदाता भदौ २२ गते, रौतहट ।
प्रधानाध्यापकको जिम्मेवारी पाउनुपर्ने लगाएतका माग राखेर रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीमा एक जना प्रधानाध्यापक आफना समर्थक सहित धर्नामा बसेका छन । प्रधानाध्यापक भूरेन्द्र भन्ने पवन पंडितले जिल्लाको देवाही गोनाही नगरपालिका ९ स्थित रहेको जय किसान माध्यमिक विद्यालय धरहरीको प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन । नगरपालिकाले आफुलाई प्रधानाध्यापक बनाउने सहमति गरेर पनि प्रधानाध्यापक नबनाएको भन्दै पंडितले आफना समर्थक सहित भदौ २० गतेदेखी धर्नामा बस्न शुरु गरेका छन । नगरपालिकाले सहमति गरेअनुसार जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक पंडितलाई नै बनाउनुपर्ने लगाएत तिन बुँदे माग राखेर स्थानीयहरुले प्रत्येक दिन विहान १० बजेदेखी दिउँसो २ बजेसम्म धर्नामा बस्दै आएका छन । आन्दोलनमा उत्रेका पवन पंडित यसअघि कटहरिया नगरपालिकाको माध्यमिक विद्यालय बगहीमा प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए भने अहिले जय किसान माध्यमिक विद्यालय धरहरीमा उनी शिक्षकको रुपमा कार्यरत रहेका छन । देवाही गोनाही नगर प्रमुख धर्मेन्द्र पटेलले आफुलाई फोन गरी तपाई बगहीबाट जय किसान माध्यमिक विद्यालय धरहरीमा आउनुस यहाँको शैक्षिक अवस्था सुधार गर्नुपर्ने छ जसको लागि तपाईको विकल्प छैन, तपाईलाई यहाँ पनि प्रधानाध्यापककै जिम्मेवारी दिन्छु भनेपछि आफु त्यहाँबाट सरुवा गराई जय किसान माविमा आएको प्रधानाध्यापक पंडितले बताए । मेयर पटेलले गरेको सहमतिको आधारमा आफु मावि बगहीबाट जय किसान मावि धरहरीमा सरुवा भई आएको र जय किसान माविका प्रधानाध्यापक उमेश यादवको आफु कार्यरत रहेको मावि बगहीमा सरुवा भएको उनले बताए । जय किसान माविमा हाजिर तथा पदस्थापन भई प्रधानाध्यापक भएर १० दिनमात्र काम गरेपछि नगरपालिकाले प्रधानाध्यापकको जिम्मेवारी खोस्दै शिक्षकमा झारेको पंडितले दुखेसो गरे । राजनितीक खिचातानीका कारण नगर प्रमुख धर्मेन्द्र पटेलले आफनो प्रधानाध्यापकको जिम्मेवारी खोसेको र फेरी पहिलाकै प्रधानाध्यापक उमेश यादवलाई नै ल्याएर प्रधानाध्यापक बनाएको पंडितको आरोप छ । न्गर प्रमुख पटेलले पुर्वाग्राही भएर आफुसँग गरेको सहमतिलाई लत्याउँदै गोप्य रुपमा प्रधानाध्यापकमा यादवलाई सिफारीस गरेको उनले बताए । पंडितका अनुसार प्रधानाध्यापक यादवले आफुले जय किसान माविमै काम गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत जनकपुर, अस्थाई इजलास बिरगंजमा मुद्धा दाएर गरेका थिए । यादवले मुद्धा दाएर गरेपछि आफु पनि आफुलाई प्रधानाध्यापकमा यथावत राख्न पाउनुपर्ने माग गर्दै मुद्धा दिएको उनले बताए । उच्च अदालत जनकपुर, अस्थाई इजलास बिरगंजले आफुलाई नै प्रधानाध्यापकमा यथावत राख्ने फैसला गरिसकेको उनले बताए । अस्थाई इजलास बिरगंज र शिक्षा विकास तथा समन्वय इकाई रौतहटले समेत आफुलाई सम्मान पदमा गरिएको सरुवा तथा पदस्थापन यथावत राख्न नगरपालिका एवं जय किसान माविलाई निर्देशन दिसकेको उनले बताए । आफुलाई प्रधानाध्यापकमा यथावत राख्न उच्च अदालत जनकपुर, अस्थाई इजलास बिरगंज र शिक्षा विकास तथा समन्वय इकाई रौतहटले निर्णय गरेको भएपनि नगरपालिकाले सो निर्णयलाई पनि अवज्ञा अर्थात अवहेलना गरेपछि बाध्य भएर शान्तिपुर्ण धर्ना कार्यक्रममा बस्नु परेको पंडितले बताए । आफना नामबाट विद्यालयको खाता खोलेर प्रअको रुपमा काम गराउन नगर प्रमुख पटेललाई पटक पटक आग्रह गर्दा पनि आज हुन्छ, भोली हुन्छ भन्दाभन्दै आलटाल गर्दै आएको उनले दुखेसो गरे । पावर र पहुचको बलमा मेयर पटेलले दोहोर सिफारीस गरी सरुवा भइसकेका प्रधानाध्यापक उमेश यादवलाई फेरी प्रधानाध्यापक बनाई आफुमाथी अन्याय गरेको उनले बताए । आफु बगही माविबाट सरुवा गराइसकेको र अहिले जय किसान माविले समेत प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गरेकोले अहिले आफु न घरको न घाटको भने झै भएको उनले बताए । नगरपालिकाले विद्यालय खाताको दस्तखत नमुना कार्ड परिवर्तन नगरे, दोहोर सिफारीस रद्द नगरे र प्रधानाध्यापकको जिम्मेवारी नदिएसम्म आफना आन्दोलनको कार्यक्रम जारी नै रहने प्रधानाध्यापक पंडितले बताए । आफना माग पुरा नभए अहिलेको भन्दा पनि कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । यस विषयमा नगर प्रमुख धर्मेन्द्र पटेलसँग प्रतिक्रिया लिन खोज्दा उनी ठोस जवाफ दिन चाहेका छैनन ।