२६ भदौ, काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो भेटघाट सकेकी छन् ।
बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । फतिमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवाद) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग भेटघाट गरेकी छन् ।
एमसीसी परियोजना अनुगमनको सिलसिलामा यस अगाडि पनि पटक–पटक नेपाल भ्रमणमा आएकी सुमारको यस पटकको भ्रमण भने राजनीतिक दलका नेताहरुसँग भेटमा केन्द्रित रह्यो । उनको भ्रमणको समग्र सन्देश हो–जे निर्णय गर्ने हो छिटो गर ।
एमसीसी परियोजना नेपालमा निकै गिजोलिएको र अझै ढिलाइ भएमा झन् समस्या उत्पन्न हुने भन्दै अमेरिकाले यसलाई सकेसम्म छिटै टुंगो लगाउन चाहेको छ । प्रमुख दलका शीर्ष नेताहरुसँगको भेटमा फतिमाले दिन खोजेको सन्देशलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।