काठमाडौं । कोभिड-१९को महामारीका कारण स्थगित राष्ट्रिय जनगणना पुनः सञ्चालन भएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना अभियान भदौ अन्तिममा सुरु गरेर मङ्सिर अन्तिम सम्म सक्ने निर्णय गरेको हो ।
सोही अनुसार भदौ २७ र २८ मा सुपरिवेक्षक तालिम सम्पन्न भएको छ । देशभरबाट छनौट भएका करिब आठ हजार सुपरिवेक्षकहरू अहिले भएर कार्य स्थलमा खटिएका छन्। .
आज अर्थात् भदौ ३० देखिसुपरिवेक्षकहरूले घर तथा परिवार सूचीकरण कार्य सुरु गरेको केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थ राज चौलागाइले बताए । उनका अनुसार असोज १८ गतेसम्म घर तथा परिवार सूचीकरण कार्य सम्पन्न हुनेछ।
यस्तै झन्डै ४० हजार गणक कार्तिक ९ देखि ११ गतेभित्र छनौट गरिसक्ने तयारी विभागकाे छ । यीनै गणकहरूले मूल गणाना कार्य सुरू गर्ने छन् ।
गणक छनौट भइसकेपछि कार्तिक १३ गतेदेखि १६ गतेसम्म गणक तालिम सञ्चालन हुनेछ । गणक तालिम सम्पन्न भएको दोस्रो सातादेखि मूल गणना कार्य सुरु हुने भएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार कार्तिक २५ गतेदेखि मसिंर ९ गतेसम्म मूल गणना हुनेछ । मूल गणना कार्तिक २५ देखि देशभर एकै पटक सुरु हुने विभागका सूचना अधिकारी चौलागाइले बताए ।
विभागका अनुसार काेभिड-१९काे महामारीले झनै विकराल रूप नलिएकाे अवस्थामा मसिंर ९ मा जनगणना सम्पन्न हुनेछ ।