कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको सप्तरीमा कोभिड विरामीका लागी बनाइएका सबै आईसोलेशन केन्द्र र अस्पतालका शैया अहिले खाली भएका छन् ।
जिल्लामा बुधवार पुष्टी भएका १ संक्रमित सहित ९ जना मात्र सक्रिय संक्रमित रहेको र उनीहरु पनि होम आइसोलेशन मै वस्ने भएकाले जिल्लाका सबै आईसोलेन वाडका शैया खाली भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार हाल सक्रिय संक्रमित रहेका र्२ महिला सहित सबै जनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होमआईसोलेशन मै वस्ने इच्छा जाहेर गरेकाले सरकारी र स्थानीयतह स्तरबाट निर्माण गरिएका आईसोलेशन वाडका शैयाहरु खाली भएको हो । उनका अनुसार जिल्लामा कोरोनाको पहिलो लहरमा ४१ र दोश्रो लहरमा १ सय १८ गरी १ सय ५९ जनाको ज्यान गएको छ । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला स्थित गजेन्द्रनारायण सिह अस्पताल, साईकृष्णा मेडीकल कलेज, युनिक अस्पताल, छिन्नमस्ता अस्पताल, भारदह अस्पताल, शत्रुघन अस्पताल तथा हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र खडक नगरपालिकाका गरी ९ स्थानमा ३ सय भन्दा बढी बेडको आईसोलेशन वाड संचालनमा ल्याइएको थियो ।
अहिले संक्रमित घटेपछि सबै आईसोलेशन केन्द्रका बेड खाली भएको उनको भनाई छ । विगतको तुलनामा हाल संक्रमण दर घटेपनि जोखिम भने कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अझै कडाईका साथ पालना गर्नु पर्ने उनको सुझाव समेत छ ।