ओम प्रकाश यादव
गरुडा समाचारदाता
भदौ ३० गते, रौतहट
जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन ।
पाँच वर्षपछि आउँदो चैत्रमा स्थानीय तहको निर्वाचन हुन लागेकोले अहिलेदेखी नै निर्वाचनको तयारीमा जुटन पार्टीबाट निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य एवं चुनाव लडन चाहने नेता कार्यकर्तालाई राज्य मन्त्री यादवले निर्देशन दिएका हुन ।
गृह जिल्ला रौतहटमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका छन ।
जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ५ मिठुअवा स्थित कृष्ण प्रणामी मन्दिरको प्रांगनमा जनता समाजवादी पार्टी नेपालले संगठन सुदृढिकरण एवं जनजागरण (सुज) अभियान अन्तर्गत बुधवार आयोजना गरेको नगर स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राज्य मन्त्री यादवले अगामी निर्वाचनमा चुनाव जित्ने र जिताउने गरी तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।
तराई मधेशमा जसपा प्रति आम जनताको विश्वास र भरोसा रहेकोले आउँदो स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी धेरै स्थानीय तहमा जित्ने मन्त्री यादवले दावी गरे ।
जसपा देशको वैकल्पिक शक्तिको रुपमा उदय भएकोले पार्टीलाई अझै मजबुत बनाउन सबैलाई एक ढिका भएर लाग्न उनले आग्रह गरे ।
एक अर्को प्रसङ्गमा बोल्दै राज्य मन्त्री यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नं १ का सांसद अनिल झा क्षेत्रवासीलाई ठग्ने काम गरेको आरोप लगाएका छन ।
रौतहट क्षेत्र नं १ मा जम्मा ४१ वटा वडा रहेको छ । ४१ वटा वडाको विकासका लागि आउँने आफना संसदीय कोषको करोडौ करोड रकम सांसद झाले कुनै पनि वडाको विकासमा खर्च नगरी आफना निजी कम्पनीमा लगाउने गरेको उनले बताए ।
सांसद झाले जयनगर स्थित अस्पताल सञ्चालन गर्न भनी आफु र आफना श्रीमतीको नाममा अनिल एण्ड डिम्पल फाउण्डेशन प्राइभेट लिमिटेड नामक निजी कम्पनी दर्ता गराएका छन ।
प्रतिनिधिसभा सदस्य झाले दर्ता गराएको आफना निजी कम्पनीमा नै सांसद विकास कोषको सबै रकम लगानी गरी जनताको विकासभन्दा बढी आफनै विकास गर्न लागेको उनले बताए ।
सांसद विकास कोषको करोडौ रकम क्षेत्रको विकास गर्नका लागि सरकारले दिने गरेको भएपनि सांसद झाले क्षेत्रको कुनै पनि गाउँमा विकास नै नगरी आफना निजी कम्पनीमा लगानी गरी जनतालाई धोका दिने र ठग्ने काम गर्दै आएको उनले प्रस्ट पारेका हुन ।
क्षेत्रको विकासका लागि सरकारले प्रत्येक सांसदलाई प्रत्येक वर्ष ६, ६ करोड रुपैया दिने गरेको छ तर सांसद झाले सांसदमा निर्वाचित भएदेखी नै संसदीय विकास कोषको रकम अन्य कतै खर्च नगरी आफना निजी कम्पनीमा मात्र लगानी गर्दै आएको उनले बताए ।
जनताको विकास बजेट दुरुपयोग गरी आफना कम्पनीको विकास गर्ने सांसद झालाई आउँदो निर्वाचनमा जनताले पनि राम्ररी सवक सिकाउनु पर्ने धारणा उनले राखे ।
सोही कार्यक्रममा उपस्थित ६० वर्षभन्दा माथी उमेरका ३० जना वृद्धलाई मन्त्री यादवले पार्टीको चुनाव चिन्ह् छाता र गम्छा ओढाएर सम्मान गरेका हुन ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता गजेन्द्र ठाकुर, विरेन्द्र यादव, विर्झन यादव, वडा अध्यक्ष जितेन्द्र कुश्वाहा लगाएत पार्टीका सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।