काठमाडौं
नेपालमा भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा टेस्ट पोजिटिभिटी दर १०.६ प्रतिशत छ । पाँच महिनायता बुधबार सबैभन्दा कम संक्रमितको मृत्यु भएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण सातजनाको मृत्यु पुष्टि भएको हो ।
यस्तो छ साउनयताको तथ्यांक
नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण उच्च भएयता साउन महिनामा सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ गतेसम्म आइपुग्दा सात लाख ३४ हजार ८३८ पुग्यो । यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम रह्यो ।
साउनमा ५८ हजार ६७२ जना संक्रमणमुक्त भए । जबकि, थपिने संक्रमितको संख्या ७२ हजार २६८ थियो ।
साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
सक्रिय संक्रमितको दर ४ प्रतिशतबाट बढेर ५.३६ प्रतिशत पुगेको थियो भने दैनिक टेस्ट पोजिटिभिटी दर २२ प्रतिशतभन्दा बढी नै रह्यो । साउनको अन्तिम साता नेपालमा प्रत्येक चार परीक्षणमा एकजनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
तर, भदौमा थपिने कोभिड संक्रमितको संख्या साउनको भन्दा झन्डै २६ हजारले कम छ । भदौका ३० दिनमा नेपालमा दुई लाख ९४ हजार ३८ वटा नमुनाको परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट ४६ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, भदौमा संक्रमणमुक्त हुनेको संख्या तुलनात्मक रूपमा साउनभन्दा बढी ५८ हजार ३८६ छ, यो थपिने संक्रमितको संख्याभन्दा बढी हो । साउनमा ७२ हजारभन्दा बढी संक्रमित थपिँदा निको हुनेको संख्या ५८ हजार ६७२ निको थियो ।
भदौमा कोभिड–१९ संक्रमणका कारण ६६४ जनाको मृत्यु भएको तथ्यांक छ । साउनमा ८६४ जनाको मृत्यु भएको थियो ।
५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या साउनमा २१ रहेकोमा भदौ अन्तिममा आइपुग्दा ११ मा झरेको छ । यस अर्थमा कोभिड संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा परेका जिल्लाको संख्या पनि भदौमा घटेको तथ्यांकले देखाउँछ ।