ओम प्रकाश यादव, रौतहट
समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मुलुकको चौतर्फि विकास, परिवर्तन र समृद्धिका लागि जनता समाजवादी पार्टी नेपालको कुनै विकल्प नरहेको बताएका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा बनेको मधेशी जनअधिकार फोरम, संघिय समाजवादी फोरम र अहिलेका जनता समाजवादी पार्टी नेपालका कारण देशमा ठुलठुला परिवर्तन भएको चर्चा गर्दै राज्य मन्त्री यादवले अझै परिवर्तन र देश विकासका लागि जनता समाजवादी पार्टीमा लाग्न सबैलाई आग्रह गरेका हुन ।
गृह जिल्ला रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठामा शनिवार आयोजित पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियान अन्तर्गत नगर स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले यस्तो बताएका छन ।
देशलाई आर्थिक रुपमा समृद्ध र विकसित एक मात्र पार्टी जसपाले नै बनाउन सक्ने भएकोले यसै पार्टीमा लाग्न मन्त्री यादवले सबैलाई अनुरोध गरेका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा भएको विभिन्न आन्दोलनको बलमा सरकारी जागीरमा मधेशी कोटा निर्धारण भएको र सोही कोटाका कारण मधेशका छोरा छोरी अहिले सिडियो, एसपी, डिएसपी, इन्स्पेक्टर, सुब्बा, खरिदार लगाएत बन्न पाएको उनले बताए ।
उपेन्द्र यादवका कारण मुलुकमा यस्ता कयौं परिवर्तनहरु भएको उनले बताए । मधेशी जनताको हक अधिकार पनि एक मात्र पार्टी जसपा नै दिलाउन सक्ने भएकोले आफना अधिकार र परिवर्तनका लागि आउँदो निर्वाचनमा फेरी जसपालाई नै साथ दिन उनले सबैलाई अनुरोध गरे ।
पार्टीका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले जनताको काममा सक्रिय हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
जनतालाई खुसी पारे मात्रै पार्टीले बहुमत ल्याउने उनले बताए । ‘जनता मालिक हुन् । देशकको मालिक खुसी भए जिताइदिन्छन् । प्रधानमन्त्रीसम्म बनाइदिन्छन् । रिसाए भने भोट नहालेर सजाय दिन्छन’, यादवले भने, ‘सर्वाभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो । जनताको काममा पछाडि नहुनुस, किनभने जनताले भोट हाल्छन् । भाषणमा भोट हाल्दैनन् ।’
अदालत, प्रहरी प्रशासन जस्ता विभिन्न स्थानमा जनताको सुखदुखमा पुगेर सहगोग गरेर जनताको मन जिते मात्रै जनताले भोट दिने उनको भनाइ छ ।
‘अड्डा अदालत प्रहरी प्रशासनमा समस्या हुन्छ जनताको सुखदुखमा साथ दिनुहोस्, जनताको काम गर्नुहोस् । मलाई विश्वास छ जनताले भोट दिन्छन् दिन्छन’, उनले भने, ‘यहाँ अर्ली इलेक्सनको कुरा भएको छ । जनताको घरदैलोमा पुग्नुस, दुःखसुखमा साथ दिनुस् । जनताको काम गर्नुस् जनताले आफै भोट दिनेछन् ।’
पार्टीका प्रत्येक नेता कार्यकर्ताले जनताको घरदैलोमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, प्रदेश सदस्य वृज किशोर यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, युवा नेता श्याम विहारी यादव लगाएतका नेताले आ आफना मन्तव्य राख्दै पार्टीलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।