रमेश कुमार यादब, रौतहट
संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार रौतहटको मध्यभाग गरुडामा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । रौतहट जिल्लाको धरोहरको रुपमा रहेको श्रीराम सुगर मिलबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै दुर्गा मन्दिरमा आई कोणसभामा समापन गरिएको थियो । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालका नेता एवं कार्यकर्ताहरु हातमा कालोपट्टी बाँधेर विभिन्न नारावाजी गर्दै विभेदकारी संविधान मधेशी जनतालाई स्वीकार्य नहुने भन्दै आजको दिनलाई कालो दिनको रुपमा मनाइएको थियो । रौतहट जिल्लाको मध्यभागमा पर्ने गरुडाको श्रीराम सुगर मिलमा जिल्लाभरीको नेता एवं कार्यकर्ताहरुलाई भेला गराएर लोसपाले वृहद जुलुश निकालेका थिए । बृहत जुलुसको सम्बोधन गर्दै रौतहटको चर्चित नेता तथा स्थानिय गरुडा निवासी कन्थमनी प्रसाद जयसवालले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए । संविधानमा मधेशी, आदिवासी जनजाती, महिला, मुस्लिम, थारु लगायत विभिन्न सिमान्तकृत जनताहरुको भावनालाई उचित सम्बोधन नगरे मुलुकको आधा जनसंख्या आजको दिनलाई कालो दिनको रुपमा मनाउन बाध्य हुने नेता जयसवालले सरकार र प्रतिपक्षलाई अंकित गर्दै कडा चेतावनी दिएका थिए । नेता जयसवालले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाई थियो । संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवसको रुपमा मनाइरहने उनले बताए । २०७२ असोज ३ लाई नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संविधान दिवसको रुपमा मनाउछ भने मधेसी, आदिवासी जनजाती, दलित, मुस्लिम तथा शोषण उत्पीडीत समुदायको मानिसहरु यस दिनलाई कालो दिन को रूपमा मनाउदै आएको छ । मधेशमा यसको सब भन्दा बढ़ी बिरोध हुनुको कारण एका तर्फ संविधान निर्माण गरी खाश वर्गको नेतृवहरू दिपावली मनाइ रहेको थियो भने अर्को तीर मधेसमा निहत्था मधेशीहरुको टाउको र छातीमा गोली ठोकने काम हुदै थियो । मधेशीहरुको लास माथि ल्याइएको संबिधानलाई आम मधेशी जनताले स्वीकार गरेन अतः त्यस दिनलाई कालो दिनको रुपमा मनाउदै आएको हो ।