रमेश कुमार यादब, रौतहट
रौतहटमा सोमबार देखि सोह्र श्राद्ध शुरु भएको छ । हिन्दू धर्ममा पितृको उद्दारका लागि सोह्र श्राद्ध गरिन्छ । चन्द्रमा अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमा देखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । सोह् श्राद्धमा प्रतिपदा तिथीदेखि १५ दिन पितृलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा तर्पण र पिण्ड दान गर्ने परम्परा रहेको छ । सो बिधि रौतहटमा सोमबार देखि जमरे औंसीसम्म १५ दिन नजिकको जलाशयमा गई तर्पण गरेर दिवंगत पितृलाई जल अर्पण गर्ने गरिन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरु प्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दिवंगत पितृको सम्झनामा तर्पर्ण रौतहट स्थित रहेको पवित्र नदि ,पोखरीहरुमा आज बिहानैदेखि भिड लागेको थियो । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ । यसलाई यसरी बुझदा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गर्ने भएकोले सोह् श्राद्ध भनिएको छ । रौतहटको बृन्दावन नगरपालिका–३ स्थित रहेको बाबा बिश्वम्बर नाथको पोखरीमा दर्जनौको संख्यामा रहेका पुरोहितहरुद्धारा मन्त्र उच्चारण गराएर तर्पणको सुरुवात गराएका थिए । मन्त्र उच्चारण गरेवापत पुरोहितले दक्षिणा लिने गरेका छन् । दशैं र तिहार जस्ता ठुला चाडपर्वमा अन्य देवतालाई सम्झनु अघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलंबिबीच सोह्र श्राद्धको महत्व रहेको हो । आज सोमबारका पहिलो दिन अगष्ट मुनिलाई जल अर्पण गरेको बृन्दावन नगरपालिका–३ का भबेश मिश्रा बताएका छन् ।