८ असोज, वर्तमानकाल समाचारदाता । सर्लाही प्रहरीले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेपनी आर्थिक लाभ लिई जाली नोट कारोबारीलाई छोडिएको घटना उजागर भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले मोटो रकम घुस लिएर जाली नोट सहितको कारोबारीलाई छोडिएका हुन । उनीहरुले जाली नोट कारोवारीलाई छाडेपछि प्रहरी प्रधान कार्यालयको दबाबमा प्रदेश प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ । प्रहरी प्रधानकार्यालयले सो विषयमा गम्भीर रुपमा छानवीन गर्न निर्दैशन दिएपछि अनुसन्धान शुरु भएको हो ।
बिगत १ महिना अगाडी इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवको कमान्डमा खटिएको टोलिले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेका थिए । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज यादवले कारोबारीसँग मोटो रकम लिएर कारोवारी छाड्न सेटिङ गरेको स्रोतको दावी छ ।
स्रोतका अनुसार रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा प्रहरी प्रधानकार्यालयमा जानकारी पुगेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रन्जितकारले अनुसन्धान शुरु गरेको बताइएको छ ।
‘यो विषयमा हामीले छानवीन गरिरहेका छौ अनुसन्धानमा दोषी देखिए कारवाही गर्छौ’, प्रदेश २ का डीआईजी रन्जितकारले भने । उनले प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानेपनि रकम बार्गेनिङ गर्ने घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ भने छाडा छोडेका छन् । यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज यादव, प्रहरी निरीक्षक अवधेश यादवको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुह प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नाम समेत मुछिएको छ । सन्तोष राठौरले उच्च राजनीतिक पहुँच प्रयोग गरेर सर्लाही गएका थिए ।
सर्लाही प्रहरीले जाली नोट सहित पक्राउ गरेका कारोबारीलाई छोडनसाथ पुनः जाली नोट सहित बाराको निजगढबाट बारा प्रहरीले पक्राउ गरेको थियो । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित रहेको तारा इन होटेलमा रूम भाडामा लिइ बस्दै र जाली नोट कारोबारलाई तिब्रता दिएको विशेष सूचनाको अधारमा निजगढ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । बारा प्रहरीले पक्राउ गरेको पाँच जना मध्ये एक जनालाई १ महिना अगाडी सर्लाही प्रहरीले पक्राउ गरेको थियो ।