ओम प्रकाश यादव, रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बर्थिङ्ग सेन्टर सञ्चालनका लागि प्रदेश २ सरकारको सहयोगमा माधोपुर स्वास्थ्य चौकीमा दुई तल्ले चार कोठे भवन निर्माण कार्य सम्पन्न भइ अहिले पलास्टर, टायल्स मार्वल, धारा लगाउने लगाएत कार्य तिव्र गतिमा अगाडि बढेको छ । प्रदेश २ का प्रदेश सांसद एवं भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहल एवं समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको भवनमा टायल्स मार्वल, धारा लगाएतको काम धमाधम भइरहेको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं ग्रामीण विकास केन्द्र नेपाल (आरडीसी नेपाल) को साझेदारी र जिल्ला स्वास्थ्य कार्यालय गौरको समन्वयमा बर्थिङ्ग सेन्टरको कोठाहरुको मर्मत सम्भार कार्य भइरहेको छ । वल्र्ड भिजनको ११ लाख ६० हजार रुपैयाँको लागतमा उक्त काम भइरहेको छ । वल्र्ड भिजनका वित्त निर्देशक दिपकराज भाट्ट र संयोजक निराजन मिश्रले शुक्रवार उक्त बर्थिङ्ग सेन्टरको अनुगमन निरीक्षण गरेका छन । अनुगमन गर्न आएका वित्त निर्देशक भाट्टले काम सन्तोसजनक भइरहेको बताउँदै अब चाडै बर्थिङ्ग सेन्टर सञ्चालन हुने बताए । बर्थिङ्ग सेन्टर सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरण एवं सामग्रिहरु वल्र्ड भिजनले नै खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । बर्थिङ्ग सेन्टरको अभावमा घरमै बच्चा जन्माउँदा महिला र बच्चा दुबै ज्यान जोखिममा पर्ने गरेको अवस्थालाई मध्य नजर गर्दै प्रदेश सरकारले अब कुनै पनि महिला वा बच्चाको ज्यान जोखिममा नपरोस र आफनै गाउँघरमा सुरक्षितसाथ सुत्केरी गराउन पाओस भन्ने उद्देश्यका साथ बर्थिङ्ग सेन्टर सञ्चालन गर्न लागेको छ । यता नजिकमा कतै बर्थिङ्ग सेन्टर नहुँदा अहिले माधोपुर लगाएत गाउँका गर्भवती महिलालाई सुत्केरी गराउन सदरमुकाम गौर, चन्द्रपुर, विरगंज लैजानुपर्ने बाध्याता रहेको छ भने अर्को तर्फ आर्थिक स्थिती कमजोर भएका घरपरिवारका महिलालाई गाउँ घरमै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ । यसरी असुरक्षित तरिकाले गाउँ घरमै बच्चा जन्माउँदा महिला र बच्चा दुवैको ज्यान जाने खतरा हुने गरेको छ । तर अब आफनै गाउँघरमा बर्थिङ्ग सेन्टर सञ्चालन हुनेभएपछि माधोपुर सहित आसपासका गर्भवती महिलालाई सुत्केरी गराउन घरमा वा घर बाहिर लैजानुपर्ने बाध्याता हटने भएको छ । आफनै गाउँठाउँमा पहिलो पटक बर्थिङ्ग सेन्टर सञ्चालन हुनेभएपछि अब सामान्य अवस्थाको बच्चा जन्माउन बाहिर जानु पर्ने बाध्यता हटने भन्दै स्थानीयहरु हर्षित भएका छन । माधोपुर स्वास्थ्य चौकीमा सञ्चालन हुन लागेको बर्थिङ्ग सेन्टरबाट माधोपुर सहित पिप्रा रजवाडा, गढो, लौकाहा, विशुनपुर्वा मानपुर, मिठुअवा लगाएत गाउँका बासिन्दाले प्रत्यक्ष सेवा पाउने छन ।