ओम प्रकाश यादव, रौतहट । सरकारले सामुदायिक शिक्षामा अर्बौको लगानी गरेको छ । तर पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन ।
रौतहटको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ । शहरी क्षेत्रको सामुदायीक विद्यालयको अवस्था अलि ठिक भएपनि ग्रामीण क्षेत्रको अधिकांश विद्यालयहरुको शिक्षाको अवस्था दयनीय रहेको छ ।
रौतहटमा एउटा यस्तो विद्यालय छन जहाँ विद्यार्थीलाई बस्नलाई एउटा पनि न बेन्च डेस्क छ नत दिशा पिसाव गर्न शौचालय नै छैनन । यति मात्र कहाँ हो र त्यहाँ खानेपानीका लागि कल पनि छैन ।
त्यो विद्यालय हो गढिमाई नगरपालिका वडा नं. ६ पकहा बखरीको प्राथमिक विद्यालय । सरसफाईको अभावमा प्राथमिक विद्यालय पकहा बखरीको विद्यार्थीहरु पढने कोठाहरु समेत फोहोरले पुरै दुर्गन्धित बनेको छ ।
फोहोरले उक्त विद्यालयमा बसेर पढने अवस्था छैन । ५ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा विद्यार्थीलाई बस्न एउटा पनि ब्रेन्च डेस्क छैन भने शिक्षकलाई बस्न एउटा कुर्सी पनि छैन । ब्रेन्च डेस्क नहुँदा विद्यार्थीहरु कक्षा कोठाको फोहोरमा नै भुइँमै बसेर पढन बाध्य छन ।
विद्यालयमा भएको शौचालय समेत सरसफाईको अभावमा फोहोरले प्रयोग विहिन भएका कारण विद्यार्थीहरु शौच गर्न खेतमा जाने गरेका छन ।
त्यस्तै शुद्ध खानेपानीका लागि खानेपानी अर्थात कलको समेत व्यवस्था नहुँदा विद्यार्थीहरु पानी खान गाउँलेको कलमा जान बाध्य छन ।
विद्यालयमा बस्न ब्रेन्च, डेस्क, शौच गर्न शौचालय र खानेपानीको व्यवस्था नहुँदा तथा कोठाहरु पुरै दुर्गन्धित भएको कारण विद्यार्थीहरु पढन जान मान्दैनन ।
विद्यालयमा एकसय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेपनि मुस्किलले दैनिक १० देखी १५ जनासम्म मात्रै विद्यार्थी पढन जाने गर्दछन ।
विद्यालयमा एक त ब्रेन्च, डेस्क, शौचालय र कल नभएको र त्यसमा पनि पढाई समेत राम्रो नहुँदा बालबालिकालाई भविष्य बर्बाद हुने डरले आ आफना छोरा छोरीलाई विद्यालय पठाउन छाडेको अभिभावकहरु बताउँछन ।
गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र वडा नं ६ का वडा अध्यक्ष राम सिहासन राय यादवको चरम लापरवाहीका कारण विद्यालयको अवस्था लथालिङ अर्थात कमजोर बनेको स्थानीय अभिभावक अवध राय यादवले बताए ।
विद्यालयको अवस्था सुधार गर्न आफुहरु नगर प्रमुख श्याम यादव र वडा अध्यक्ष यादवलाई पटक पटक आग्रह गर्दा पनि दुवै जना कुनै सुनवाई नगरेको यादवले बताए ।
मेयर र वडा अध्यक्षले विद्यालयको अवस्था सुधार गर्न कुनै ध्यान नदिएकोले विद्यालय एवं पढाइको अवस्था निकै कमजोर भएको र त्यस्तो विद्यालयमा छोरा छोरी पढाउँदा उनिहरुको भविष्य अन्धकारमा पर्ने डरले आफुहरु महंगो शुल्क तिरेर नै निजी विद्यालयमा छोराछोरी पढाउने गरेको अभिभावकहरुले बताएका छन ।
शिक्षाको अवस्था कमजोर हुँदै गएपनि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय जनप्रतिनिधिले समेत यसप्रति कुनै चासो देखाएको छैन ।
रौतहट एक त शिक्षामा देशमै सबभन्दा पछाडी परेको र त्यसमा पनि विद्यालय एवं पढाई दुवैको अवस्था राम्रो नहुँदा शिक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन खुस्किदै गएको छ । तर व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयको शिक्षाको स्तर सुधार गर्ने तर्फ कुनै ध्यान नदिई शिक्षाको नाममा आउने रकमलाई हिनामिना गर्नेतर्फ मात्रै लागेको आरोप लाग्ने गरेको छ ।
शिक्षाको सम्पुर्ण अधिकार स्थानीय तहमा आइसकेको छ त्यसैले शिक्षामा हुने गरेको कमीकमजोरी हेर्ने र समाधान गर्ने अधिकार पालिकालाई दिइएको छ तर गढिमाई नगरपालिकाका जनप्रतिनिधिहरु शिक्षाको स्तर सुधार तर्फ कुनै ध्यान नदिई बढी फाइदा हुने विकास बजेट चलाउने तिर मात्रै केन्द्रित रहेको स्थानीयहरुले बताए ।
विद्यालयमा सोमवार विहान भेला भएका स्थानीयहरु विद्यालयको समस्या चाडै समाधान नभए जनप्रतिनिधि विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।
यता गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवले एक दुई दिन भित्रमै आफुहरु उक्त विद्यालयको अनुगमन गर्ने र अनुगमन पछि चाडै विद्यालयको अवस्था सुधार गर्ने तर्फ लाग्ने बताएका छन ।
वडा अध्यक्ष राम सिहासन यादवले विद्यालयको समस्याप्रति आफु गम्भीर रहेको बताउँदै केही दिनमै समस्या समाधान गर्ने बताए ।