रौतहट, १३ आश्विन । मोटरसाइकलमा लागू औषध राखेर पत्रकारलाई फसाउने खोज्ने रौतहटका तत्कालिन एसपी सिद्धिबिक्रम शाहलाई जोगाउने प्रयास भएको छ ।
मुख्य योजनाकारलाई पक्राउ नगरी उनलाई जोगाउने प्रयास भएको हो । घटनाको एक महिना बित्दा पनि छानबिन सकिएको छै्न । नियतबश रुपमा एसपीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयले भदौ ८ गते एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो।
साउन ३२ गते रौतहट प्रहरीले लागु औषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई गौर स्थित ग्रीन सिग्नल होटल बाहिरबाट पक्राउ गरेको थियो । प्रहरीकै योजनामा लागूऔाषध राखिएको थियो । जसको मुख्य योजनाकार पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय सहनी हुन् । जो अझै पक्राउ परेका छैनन् । उनी पक्राउ नपरेकाले एसपीको भूमिका प्रष्ट हुन नसकेको भन्दै उनलाई जोगाउन लागिएको हो ।
पत्रकार सहनीले एसपी शाहलाई भनेर पत्रकार मोजिबुल्लाहलाई पक्राएका थिए । जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीद्वय असई उदयप्रसाद यादव र जवान मनोज शाहको उपस्थितिमा धिरज यादव र जितेशकुमार यादवले उनको मोटरसाइकलमा लागुऔषध राखेको सिसिक्यामेरामा समेत देखिएको छ ।
घटनामा योजनकार सहनीले एसपी शाहसँगको टेलिफोन सम्वादको अडियो समेत बाहिर आइसकेको छ । जसमा एसपी शाहले काम भयो नि भनेर सोधेका छन् ।
गुप्तचरबाट चलखेलका आधारमा नेपाल प्रहरीमा आएका एसपी शाहले यसअघि प्रबन्धमा बसेर पनि करोडौं कमाएका थिए । अहिले पनि उनलाई जोगाउन प्रहरी प्रधान कार्यालयमा चलखेल भइरहेको स्रोत बताउँछ । सभार दृष्टि न्युज अनलाईन