काठमाडौं, असोज १४ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई दसैंका साइतहरूबारे जानकारी गराएको छ ।
गृहले असोज १२ गतेको निर्णयअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एक परिपत्रमार्फत दसैंका साइतहरूबारे मातहतका कार्यालयहरूलाई पनि जानकारी दिन निर्देशनसमेत दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट असोज ८ गते प्राप्त पत्रअनुसार २०७८ सालका दसैंका शुभ साइतहरुबारे जानकारी दिइएको गृहले बताएको छ ।
यही असोज २१ गते घटस्थापना परेको र त्यसको शुभ साइत बिहान ११ः४६ बजे रहेको बताइएको छ । सोही दिन नवरात्र आरम्भ हुने जानकारी पनि गृहले दिएको छ ।
गृहका अनुसार असोज २२ गते झन्डा फेर्ने (पश्चिम मोहडा) शुभसाइत ११ः५६ बजे परेको छ । असोज २५ गते पचली भैरव यात्राको साइत रहेको छ भने असोज २६ गते फुलपाती र तुलजा भवानीको यात्राको शुभसाइत बिहान ७ः११ बरेको परेको छ। सोही दिन स्थिरासनको साइत भने बिहान ८ः४४ बजे रहेको गृहको परिपत्रमा उल्लेख छ ।
असोज २८ मा महाअष्टमी र नवरात्रि परेको छ भने असोज २९ गते महानवमी परेको छ। विजया दशमीका दिन दृवी विसर्जनको साइत बिहान ८ः१९ बजे परेको छ भने टीका लाउने साइत बिहान १०ः०२ बजे रहेको जानकारी गृहले दिएको छ ।
विजया दशमीकै दिन तुलजा भवानीको यात्राका लागि बिहान ७ः०१ बजे र स्थिरासनका लागि बिहान ८ः३२ बजे शुभसाइत पर्दा खड्गयात्रा पनि सोही परेको जानकारी दिइएको छ ।
कात्तिक २ गते अखिलबलिपूर्ति र सोही दिन नै कोजागत व्रत पनि परेको परिपत्रमा उल्लेख छ ।