जनकपुरधाम । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने धनुषाको मिथिला नगरपालिकास्थित कोल्ड स्टोरको निर्माण कार्य अझै पुरा हुन सकेको छैन् । संघीय सरकारको सहयोगमा निर्माण भईरहेको उक्त कोल्ड स्टोर संचालनमा आउन अझै केही महिना लाग्ने देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत संघीय सरकारले मिथिला नगरपालिका–७ मा ग्रिन फरेस्ट्री एण्ड एग्रिकल्चर प्रालि कोल्ड स्टोर निर्माणका लागि अनुदान दिएको छ । मन्त्रालय र सञ्चालक बीच १७ माघ २०७५ सालमा भएको सम्झौता अनुसार उक्त परियोजना दुई वर्ष भित्र सम्पन्न गर्नुपर्ने हो । तर सम्झौताको झण्डै तीन वर्ष हुन लाग्दा पनि कोल्ड स्टोर संचालनमा आउन सकेको छैन् । कोल्ड स्टोरको भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेपनि कुलिङ्ग, क्रेटिङ्ग लगायतका मेसिन अझै जडान हुन सकेको छैन् । मेसिन राख्ने भवन, स्टाफ रुम, भवनको पर्खालहरु समेत तयार भईसकेको छ । विद्युतीय ट्रान्सफर्मरको जडान र भवनहरुमा विद्युतीय वाईरिङगको काम पनि भईरहेको छ । कोल्ड स्टोरका संचालक उपेन्द्र चौधरीले भने,‘ कोल्ड स्टोरको भौतिक संरचना पुरै तयार भईसकेको छ । मेसिनहरुको लागि एक भारतीय कम्पनीलाई एलसी मार्फत खरिद गर्ने प्रक्रिया पुरा भईसकेको र दशै अघि नै मेसिनहरु आईपुग्छ ।’ कोल्ड स्टोर निर्माण सम्झौता भएको दुई वर्ष भएपनि कोभिडको कारण एक वर्ष समय थपिएको बताउदै संचालक चौधरीले भने,‘ हामीले निरन्तर कामलाई अगाडी बढाईरहेका छौ । अव बढीमा ४/५ महिनाभित्र कोल्ड स्टोर संचालनमा आउछ ।’ कोल्ड स्टोर निर्माणमा अहिले सम्म १५ करोड खर्च भईसकेको उल्लेख गर्दै उनले भने,‘ भौतिक संरचना निर्माणमै अहिले सम्म १५ करोड खर्च भईसकेको छ । अव मेसिनहरु, जेनरेटर तथा व्यवस्थापन लगायतमा ५ देखि ६ करोड थप खर्च हुन्छ ।’ कोल्ड स्टोर निर्माणमा सुरुवाति अवस्थामा १९ करोड ६२ लाख ७५ हजार लागतमा निर्माण हुने अनुमान गरिएको थियो । त्यसमध्ये नेपाल सरकारले कोल्ड स्टोरका लागि संचालकलाई ११ करोड ५० लाख अनुदान दिने गरि सम्झौता गरेको थियो । परियोजनाको पहिलो किस्ता वापत २६ फागुन २०७५ सालमै सरकारले संचालकलाई २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यस वाहेक अहिले सम्म सरकारले कुनै किस्ता उपलब्ध नगराएको संचालक चौधरीले दुखेसो पेखो । हामी जतिको काम अहिले सम्म कसैले गर्न सकेको छैन, उनले भने,‘ बैंकसँग ऋण लिएर, आफ्ना जग्गा जमिन बेचेर पनि कामलाई अगाडी बढाएका छौ । कोल्ड स्टोरको अव थोरै काम मात्रै बाँकी छ । तर पनि सरकारले पहिलो किस्ता वाहेर दोस्रो, तेस्रो कुनै किस्ताको रकम उपलब्ध गराएको छैन ।’ आर्थिक अभावले पनि काम प्रभावित भएको उनले बताए ।
कोल्ड स्टोरको काम चिसियो
3 Min Read