ओम प्रकाश यादव, रौतहट । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रौतहटको गुजरा नगरपालिकाले शुक्रवार नगरभित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ९० वर्षभन्दा माथीका २२ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख शेख नुरजहाँ खातुनले दुवै जना संयुक्त रुपमा कम्बल, साल र च्यामनपरास लगाएतका पोसिलो खानेकुरा दिएर सम्मान गरेका छन ।
जेष्ठ नागरिकलाई सम्मान गर्दै गुजरा नगर प्रमुख चौधरीले नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए ।
नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिदै जाने उनले बताए ।
नगरपालिका मातहत रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद प्रसाद जयसवाल, कार्यपालिका सदस्य, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रौतहटको अन्य स्थानीय तहहरुले समेत जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
जिल्लाका स्थानीय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक दिवस भव्याताका साथ मनाएको छ ।