काठमाडौँ, १७ असोज (रासस)
नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरूको स्वास्थ्योपचारमा सघाउ पु¥याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ ।
दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गर्नुभयो ।
सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई उहाँको उदार सहयोगको कदर स्वरुप भिक्षु महासङ्घको तर्फबाट साधुवाद पत्र प्रदान गर्नुभएको थियो ।
सो अक्षय कोषमा विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले जानकारी दिनुभएको छ ।