ओम प्रकाश यादव, रौतहट । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा आइतवार ठुलो मात्रामा छात्राहरुलाई साइकल वितरण गरेका छन ।
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत जिल्लाको सदरमुकाम गौर स्थित रहेको जुद्ध उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई राज्य मन्त्री यादवले साइकल प्रदान गरेका हुन ।
विद्यालयको प्रांगनमा आइतवार आयोजित एक कार्यक्रमबा बीच मन्त्री यादवले छात्राहरुलाई साइकल हस्तान्त्रण गरेका हुन ।
सो विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुमध्ये ९७ जनालाई साइकल वितरण गरिएको र बाँकी छात्रालाई पनि पछि साइकल वितरण गर्ने राज्य मन्त्री यादवले बताए ।
छात्राहरुलाई साईकल वितरण गर्दै उनले शिक्षाप्रति छात्राहरुलाई आकर्षित गर्न साइकल वितरण कार्यक्रम गरिएको बताए ।
साइकल वितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राज्य मन्त्री यादवले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेकोले महिलालाई सशक्त बनाउन प्रदेश सरकारले छोरीलाई साइकल बाँडने योजना ल्याएको बताए ।
साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुने र यसले छात्राहरुलाई विद्यालय आउन समेत सहज हुने उनले विश्वास व्यक्त गरे ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उपप्रमुख किरण ठाकुर, जसपा नेतृ शोभा, गिता कुश्वाहा लगाएतका व्यक्तिहरुको सहभागी रहेको थियो ।