पोखरिया/पर्सा । पोखरिया अस्पतालले दुई वर्षअघि ०७६।७७ मा संघीय सरकार र प्रदेश सरकारबाट पाएको अनुदान बापतको बजेट खर्च गर्न नसकी बाँकी रहेको ४४ लाखभन्दा बढी रकम अझै फिर्ता गरेको छैन । पोखरिया अस्पतालले प्रदेश र संघीय अनुदान गरी ४४ लाख ६७ हजार २ सय ७१ रुपैयाँ ७४ पैसा फिर्ता नगरेको महालेखाले जनाएको छ । प्रदेश आर्थिक ऐन २०७५ ले आर्थिक वर्षभित्र खर्च नभई बाँकी रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । ०७६।७७ मा प्रदेश सरकारले पोखरिया अस्पताललाई ६८ लाख २५ हजार रकम अनुदान बापत दिएको थियो । सो मध्ये अस्पतालले ३२ लाख ३९ हजार ४ सय ८५ रुपैया मात्रै खर्च गर्न सकेको थियो । यसरी बाँकी रहेको अनुदानबापतको रकम प्रदेश आर्थिक ऐन २०७५ अनुसार प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । तर, अस्पतालले खर्च गर्न नसकेकोे ३८ लाख ८५ हजार ५ सय १४ रुपैयाँ फिर्ता नगरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । खर्च गर्न नसकिएको बाँकी रकम फिर्त गर्न पनि अस्पताललाई महालेखाले ताकेता गरेको छ । यसैगरी ०७६।७७ मै अस्पतालको विकासका लागि अस्पतालले नगरपालिकाबाट संघीय ससर्त अनुदानबापत एक करोड ३३ लाख ५९ हजार ७ सय ५१ रुपैयाँ ९६ पैसा गरेको थियो । सोमध्ये अस्पतालले उक्त आर्थिक वर्षमा एक करोड २७ लाख ७७ हजार ८ सय १४ रुपैयाँ २२ पैसा मात्रै खर्च गर्न सकेको थियो । सोमध्ये बाँकी खर्च हुन नसकेको ५ लाख ८१ हजार ७ सय ५७ रुपैयाँ ७४ पैसा अस्पतालले फिर्ता गर्नुपर्नेमा हालसम्म पनि फिर्ता गरेको छैन । अस्पतालले एक थान एम्बुलेन्स र एक थान शववाहन खरिद गर्न प्रदेश सरकारबाट पाएको अनुदानबाट एक कर्पोरेट कम्पनीलाई २० लाख ८३ हजार ५ सय ७४ रुपैयाँ पेस्की उपलब्ध गराएको छ । अस्पतालले उक्त पेस्की बापतको रकम नियमाअनुसार असुल फस्र्याेट पनि गर्न नसकेकाले महालेखाले २० लाख ८३ हजार ५ सय ७४ रुपैयाँ बेरुजु शीर्षकमा राखेको छ । आन्तरिक नियन्त्रण प्रणाली लथालिंग पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालमा नवौं तहको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टरसहित ३१ दरबन्दी रहेको यस अस्पतालमा प्रसूती, ओपीडी, ल्याब तथा फार्मेसीसहितका स्वास्थ्य सेवा उपलब्ध छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणली तयार गरी लागू गर्ने व्यवस्था भए पनि नगरपालिकाले अस्पतालमा अन्तरिक नियन्त्रण प्रणाली तयार पारी लागू गरेको छैन । अस्पतालको नागरिक बडापत्र अद्यावधिक नभएको, रसिद नियन्त्रण खाता नराखेको, अस्पताल परिसरको सरसफाइमा ध्यान नपुर्याएको जस्ता कमजोरी अहिले पनि अस्पतालमा रहेको महालेखाले जारी गरेको वार्षिक प्रतिवेदन ०७८ मै उल्लेख छ । यसैगरी अस्पतालले कर्मचारीको कार्य विवरण तयार नगरेको, कुनै पनि रकम भुक्तानी रसिदमा छापसमेत नलगाउने गरेको पाइएको छ । अस्पतालले प्राप्त गरेको सामानको गुणस्तर परीक्षण नगरेको, ई हाजिर प्रयोगमा नल्याएको, जिन्सी निरीक्षण प्रतिवेदन तयार नगरेको जस्ता समस्या अस्पतालमा विद्यमान छ ।