कृष्ण तिवारी
गरुडा समाचारदाता असोज २६ गते, रौतहट ।
तराईमा दसैँको एउटा महत्वपूर्ण पक्ष मानिने झिँझिया नाच पछिलो समय लोप हुँदै गएको छ । दसैँ शुरु हुने बित्तिकै तराई मधेशका महिलाहरुले हरेक रात गाउँ घुम्दै, गीत गाउँदै झिँझिया खेल्ने विगतको चलन अहिले खासै देखिंदैन । दशैंको घटस्थापनादेखि नवमीको रातसम्म हरेक गाउँमा नाचिने यो नाच अचेल आक्कलझुक्कल मात्र देखिन्छ । प्वालैप्वाल भएको घैँटोभित्र दियो बालेर त्यसलाई टाउकोमा राखी गीत गाउँदै झिँझिया नाच्ने गरिन्छ । तराई मधेशका जिल्लाहरुमा विशेष गरी महिलाहरुले दसैँ शुरु हुने बित्तिकै रातको समयमा गीत गाउँदै गाउँघर हिंड्ने चलन अहिले खासै देखिंदैन । १० देखि २० जनासम्मको समूह बनाएर माटोबाट बनाईएको भाँडोमाथि ढकनमा दियो बालेर टाउकोमा राखेर गीत गाउँदै, नाच्ने झिंझिया नाच अहिले कम हुँदै गएको हो । तराई मधेसको प्रायः सबै भाषिक तथा जातीय समुदायमा यो नाच प्रचलनमा छ। तर, केही दशकदेखि लोप हुँदै गएकोमा स्थानीय बुढापाका र संस्कृतिप्रेमीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सहर बजारका नयाँ पुस्ताका युवाहरुले झिँझिया लगायतका सांस्कृतिक सम्पदाप्रति उदासिन हुँदा संस्कृति नै लोप हुने खतरा बढेको पाइएको छ । अहिलेका नयाँ पुस्ताका किशोरीहरुले यसप्रति खासै चासो नदिएको कारण यो नाच हराउँदै गएको अगुवाहरुको भनाइ छ । हिजोआज झिँझिया शहरहरुमा पुरै हटेको जस्तो देखिए पनि गाउँगाउँका बालिका, किशोरीहरुले भने कहींकतै गाएको÷नाचेको देखिन्छ । यस्तोमा अलि पाका महिलाहरु भन्दा प्रायः बालिका नै बढी सहभागि हुने गरेका छन् । मधेशमा परापुर्व कालदेखी चल्दै आएको झिँझिया नाच लोप हुँदै गएकोप्रति धरैले चिन्ता पनि व्यक्त गरेका छन् । झिँझिया नाचको महत्वले दसैँको गरिमालाई समेत बढाउने भएकोले यसलाई संरक्षण गर्नु र जोगाउनु जरुरी रहेको संस्कृतविद्हरु बताउँछन् ।
तराईमा झिँझिया नाच लोप हुँदै, संस्कृति नै लोप हुने खतरा


