रमेश कुमार यादब
कार्तिक ०५,रौतहट
रौतहटमा १३ वर्षअघि इँट्टाभट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सर्वोच्च अदालत सुनुवाइ हुन सकेन ।सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरे बमोजिम सुनुवाइ स्थगित भएको हो ।थुनामुक्त हुनका लागि आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने तय भएको थियो ।२०७६ असोज २६ गते पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसतै गत भदौँ २६ गते पनि सुनबाई हुन नसकेको थियो ।२०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ।पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड–१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ । आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो ।जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेश विरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो। आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाइै थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटका राजपुरमा भएको वम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो। आलमले बनाउन लगाएको बम विष्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ ।
रौतहटको पुर्व मन्त्रि आलमविरुद्धको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा फेरी भएन सुनुवाई


