ओम प्रकाश यादव कार्तिक ७ गते, रौतहट
पुर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघियताका विरोधी केपी शर्मा ओलीका मतियार महन्थ ठाकुर कहिल्यै मधेशलाई मुक्ति दिलाउन नसक्ने दावी गरेका छन । संघीयता र लोकतन्त्रको विरोधी रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुच्छर बनेका लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशको माग र मुद्दा नै विर्सेको जसपा अध्यक्ष यादवले आरोप लगाएका छन् । प्रेस मञ्च रौतहटले आइतवार गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पूर्व प्रधानमन्त्री ओली मधेश आन्दोलनको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पर्ने सडयन्त्रमा लागेका आरोप लगाए । संविधानको मुल मर्म र भावना विपरीत ओलीले दुई पटक संसद विघटन गरेर सयौ मधेशीको बलिदानीको बलमा आएको संघीयतालाई समाप्त गर्ने सडयन्त्र गरेका कारण आन्दोलनको उपलव्धिलाई रक्षा गर्न जसपा संघर्षमा रहेको उनले बताए । मधेशको हक अधिकार पुरा नहुन्जेलसम्म जसपा संघर्षमा नै रहने उनले बताए । मधेश र संघियता विरोधी ओलीका मतियार महन्थ ठाकुर अब कहिल्यै मधेशको माग पुरा गराउन नसक्ने उनले ठोकुवा गरे । मधेशको हक अधिकारका लागि सधै लडदै आएको पार्टी जसपा मात्र मधेशी जनतालाई मुक्ति दिलाउन सक्ने दावी गर्दै अध्यक्ष यादवले परिवर्तन र विकासका लागि जसपामा लाग्न सबैलाई आग्रह गरे । उनले ओली संघीयता नचाहेको र संघीयतालाई समाप्त पार्न पटक पटक विभिन्न प्रपञ्च गर्ने गरेको भएपनि आफुहरुले ओलीको त्यो सपना पुरा हुन नदिने उनले बताए । उनले सांसद विघटन गर्ने पूर्व प्रधानमन्त्री ओलीको विरुद्ध जनता समाजवादी पार्टीले मुलुकको नेतृत्व लिन तयार भएको अवस्थामा संघीयता विरोधी महन्थ ठाकुर, राजेन्द्र महतोले धोखा दिएको बताए । आफुले ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको तर ठाकुरले ओलीको पिएन बन्न पुगेको उनले बताए । जनता समाजवादी पार्टी नेपाल बाट अलग भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता प्रति लक्षित गर्दै अध्यक्ष यादवले भने–‘परिवर्तन विरोधीले ऐतिहासिक मधेश आन्दोलनबाट प्राप्त भएको उपलव्धिलाई समाप्त पार्न प्रतिगमनको साथ दिए ।’ प्रतिगमणकारी संग हातेमालो गर्नुले को संघीयताको पक्षधर र को विरोधी स्पष्ट भएको समेत उनले उल्लेख गरे । महन्थ ठाकुर माथि लक्षित गर्दै अध्यक्ष यादवले भने–‘जसपाले प्रधानमन्त्री बनाउने खोजेको व्यक्ति ओलीको पिए निस्के ।’ अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणाली हुनु पर्ने बताए । उनले मुलुकमा विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए । ग्रामीण भेगमा पशु मेला लाग्ने गरे झै सांसद खरीद बिक्री गर्ने मेला काठमाण्डुमा लाग्ने गरेको कटाक्ष समेत उनले गरे । निर्वाचन प्रणाली भद्रगोल भएकाले मुलुकमा समृद्धि ल्याउनको लागि निर्वाचन प्रणालीमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए ।
अहिलेको भद्रगोल निर्वाचन प्रणालीका कारण सामान्य वडा अध्यक्षमा चुनाव लडन लाखौ, मेयर, उपमेयर, प्रदेश सांसद र सांसदमा लडन करोडौ रुपैया खर्च हुने गरेको उनले बताए । चुनाव लडन अहिले लाखौ करोडौ खर्च गर्नुपर्ने बाध्याताका कारण धनाडय बाहेक गरिवका छोरा छोरी चुनाव लडनै नसक्ने स्थिती आएको प्रति उनले चिन्ता व्यक्त गरे । लाखौ करोडौं खर्च गरेर चुनाव जित्ने जनप्रतिनिधिहरु निर्वाचित भएपछि चुनावमा गरेको खर्च निकाल्ने तिर मात्र ध्यान दिने गरेका कारण मुलुकको विकास हुन नसकेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीमा सुधार नभएसम्म गरिवका छोरा छोरी चुनाव लडन नसक्ने र देशको समेत विकास हुन नसक्ने भएकाले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने उनले धारणा राखे । निर्वाचन प्रणालीमा सुधार भएपछि वडा अध्यक्षदेखी लिएर सांसदमा समेत चुनाव लडन एक रुपैया पनि खर्च गर्नु नपर्ने भएपछि गरिवले समेत सहजै चुनाव लडन पाउने उनले बताए । निर्वाचन प्रणालीमा सुधार नगरे सम्म मुलुकमा गरीब किसानको छोरो निर्वाचन लडन नसकिने भएकोले मत र सांसद खरीद बिक्री गर्ने प्रक्रियाले अराजकता फैलिएको प्रति चिन्ता व्यक्त गरे । उनले भने–‘प्रत्यक्ष निर्वाचित राष्ट्रति निर्वाचनमा गएपछि पाँच बर्ष सम्म स्थायी रुपमा सरकार चलाउन सक्छ जसले मुलुकको समृद्धिमा टेवा पुग्नेछ । उनले मुलुकको समृद्धि हुन नसक्नुमा सांसद खरीद बिक्री प्रमुख कारक रहेको कारण यो प्रणाली विकास उन्मुख मुलुककालागि उपयुक्त नरहेको उनको भनाई थियो । विकास र समृद्धि ल्याउनको लागि आर्थिक क्रान्ति आवश्यक रहेको चर्चा गर्दौ उनले कृषि आधुनिकीकरण , भूमि औद्योगीकीकरण गरे मात्र समृद्धि आउने धारणा राखे । पत्रकार सम्मेलमा जसपा नेता गोविन्द चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद किशोरी यादव, प्रदेश सदस्य वृज किशोर यादव लगाएत नेताहरुको सहभागिता रहेको थियो ।
संघीयता समाप्त पार्ने ओलीको योजना कहिल्यै सफल हुन सक्दैन अध्यक्ष यादव


