५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो ।भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ ।तर मध्यप्रदेशको प्रहरीले कति जना निर्देशकमाथि गाँजा तस्करीको आरोप लगाएको भनेर केही खुलाएको छैन । त्यहाँको प्रहरीले नोभेम्बर १४ गते २ जना व्यक्तिलाई २० किलो गाँजासहित पक्राउ गरेकको थियो ।पक्राउ परेका दुबैजना अमेजनमा बिक्रेताको रुपमा दर्ता गरिएको बाबु टेक्स नामक फर्मका संस्थापक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त फर्ममार्फत् स्टिभियाको पात भनेर भारतका अन्य राज्यमा गाँजा तस्करी हुँदै आएको थियो ।अमेजनमार्फत् झण्डै दुई करोड रुपैयाँ बराबरको १ हजार किलो गाँजा बिक्री भएको समेत प्रहरीको भनाइ छ ।अमेजनले भारतस्थित आफ्ना वरिष्ठ कर्मचारीमाथि गाँजा तस्करीको आरोप लागेपछि एक विज्ञप्ति निकाल्दै कम्पनीका पोर्टलमा प्रतिबन्धित पदार्थ बन्देज गरिएको प्रस्ट पारेको छ ।कम्पनीसँग आबद्ध बिक्रेताले कुनै नियम उल्लंघन गरेको पाइएमा कडा कारबाही हुने समेत अमेजनको विज्ञप्तिमा उल्लेख छ । ‘यो विषयबारे हामीलाई सूचना आएको छ र हाल यसको छानबिन गरिरहेका छौं’, अमेजनको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी कम्पनी अमेजनमार्फत् दक्षिण एसियामा गाँजा तस्करी !
1 Min Read