ओम प्रकाश यादव
मंसिर १० गते, रौतहट ।
स्थानीय सरकार गठन भएदेखी रौतहटको १८ वटा स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पटक पटक फेरीएपनि माधवनारायण नगरपालिकाको प्रशासकीय अधिकृत पहिलो पटक फेरीएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटको माधवनारायण नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्यकर्मी जियालाल राय यादवलाई दिएको छ ।
मन्त्रालयले यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई अन्यत्र सरुवा गर्दै माधवनारायण नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समुह अन्तर्गत अधिकृत स्तर छैठौं तहमा कार्यरत यादवलाई दिएको हो ।
स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी यादवलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जियालाल यादवले शुक्रवार माधवनारायण नगर कार्य पालिकाको कार्यालय माधोपुरमा हाजिर हुँदै पदभार ग्रहण गरेका छन ।
झण्डै ६ वर्षपछि माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थको अन्यत्र सरुवा भएपछि यादवले शुक्रवारदेखी नै निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन ।
पदभार ग्रहण गर्ने क्रममा नगरपालिकाका मेयर विरेन्द्र यादव सहित कर्मचारी र अन्य जनप्रतिनिधिहरुले प्रशासकीय अधिकृत यादवलाई भव्य स्वागत गर्नुका साथै अगामी सफल कार्यकालको शुभकामना समेत दिएका छन ।
जिल्लामा रहेको जम्मा १८ वटा स्थानीय तहहरु मध्ये माधवनारायण नगरपालिका बाहेक सबै स्थानीय तहको कार्यालय प्रमुख पटक पटक फेरीदै आएको छ तर स्थानीय सरकार गठन भई सञ्चालनमा आएको २०७३ सालदेखी नै माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कायस्थ कार्यरत रहदै आएका थिए ।
कार्यालय प्रमुख कायस्थको झण्डै ६ वर्ष पछि माधवनारायण बाट सरुवा भएको हो । कायस्थ जति जिल्लाको कुनै पनि स्थानीय तहका कार्यालय प्रमुखको रुपमा लामो समयसम्म टिकेको थिएन ।