११ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु भएको छैन ।राति अवेरसम्म बसेको र नेताहरू आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् ।सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू छलफलमा जुटेका छन् भने अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल पनि छुट्टै परामर्श गरिरहेका छन् ।नेताहरू छलफलमा जुटेकोले अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू छरिए र रहेका छन् । कोही फोटो सेसनमा बेस्त भएका छन् ।बन्दसत्र सुरु भएपछि आजै नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनेछ । यसपटक एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएको छ । त्यसैका लागि पदाधिकारी संख्या थप गरेको छ ।साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।पदाधिकारी थप गरिए पनि सहमतिका लागि सकस देखिएको छ ।