१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति मदन अमात्यले आफू र आफ्नो समूहले कसैमाथि अभद्र व्यवहार नगरेको बताएका छन् ।ललितपुर जिल्ला अधिवेशनमा उदय शम्सेर राणामाथि अमात्य पक्षका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको आरोप लागेका बेला अमात्यले त्यसको खण्डन गरेका हुन् ।अमात्यले आफूहरुले कसैमाथि अभद्र व्यवहार नगरेको बरु प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गर्न खोजेको आरोप लगाए । उदयशमसेर अधिवेशनको भित्री घेरा डोरी भित्रै पसेको तर आफू नजिकै उभिदा समेत प्रहरीले छातीमा समातेर बाहिर निकाल्न खोजेको उनले बताए । ‘मलाई निकाल्ने भए उदयशम्सेरलाई पनि निकाल्नु भनेको हो अरु केही भएको होइन,’ उनले अनलाइनखबरसँग भने ।चुनाव हार्ने डरले राणा पक्षहरु आत्तिएको उनको भनाइ छ । जिल्ला अधिवेशनमा लफडा गराउनकै लागि ललितपुर प्रहरी प्रमुखको सरुवा गरिएको जिकिरसमेत उनले गरे ।ललितपुरको तत्कालीन प्रहरी प्रमुख किरण बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानेर एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
हामीले कसैलाई अभद्र व्यवहार गरेका छैनौं : अमात्य
1 Min Read