१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।यी दुई पक्षबीच कडा प्रतिस्पर्धा हुँदै आए पनि यसपटक सुर्खेतमा संस्थापन पक्षले पौडेल पक्षलाई शून्य बनाइदिएको छ । थानी पक्षका उम्मेदवारलाई महाधिवेशन प्रतिनिधिमै हराएपछि संस्थापनबाट पोखरेलको एकल उम्मेदवारी परेको हो अन्य पदका लागि भने आज मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह-सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।यस्तै थानी पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उप-सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।यसअघि शुक्रबार हुने भनिएको कांग्रेसको अधिवेशन विविध कारण आइतबार सरेको हो ।