१२ मंसिर, घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार शंकर र भुपबहादुर डाँगीबीच आइतबार दोस्रो चरणको निर्वाचन गर्ने तयारी थियो । तर सहमतिको आधारमा शंकर जिल्ला सभापति चुनिएका हुन् । उनी पौडेल-कोइराला पक्ष निकट हुन् ।शनिबार भएको पहिलो चरणको निर्वाचनमा शंकरले ७७६ र उनका निकटतम प्रतिस्पर्धी भुपबहादुरले ५४५ मत पाएका थिए । यसैगरी अध्यक्षका अन्य दुई प्रतिस्पर्धी जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा दुई हजार १३८ मत खसेको थियो ।आइतबार दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको बेला भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकर सभापति चुनिएको घोषणा गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् ।
कांग्रेसको दाङ सभापतिमा शंकर डाँगी निर्वाचित
1 Min Read