१५ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज तैनाथ गरे नेटो गठबन्धनलाई कडा जवाफ दिने चेतावनी दिएका छन् । पश्चिमी मुलुकले युक्रेनमा रुसी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई कडा चेतावनी दिएका हुन् ।युक्रेनमा नेटो फौज तैथान गर्नु भनेको रुसको ‘रेड लाइन’ पार गर्नु बराबर भएको र फौज तैनाथ गरेमा कडा जवाफ दिइने उनको भनाइ थियो । मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चिन्तित बनेको पनि पुटिनले बताए ।‘यस्ता धम्की (फौजी तैनाथ) भनेका रुसका लागि रेड लाइन हुन्’, पुटिनले भने, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’पूर्वतर्फ नेटो फौजको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षेप्यास्त्र तैनाथीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग सक्ने पनि बताएका थिए ।नेटोबाट बढ्दो खतराका कारण नयाँ हाइपरसोनिक हतियार विकास गर्न आफूहरू बाध्य भएको पनि पुटिनको भनाइ थियो ।पुटिनले भने, ‘हामीलाई धम्की दिनेहरूलाई उनीहरूका जस्तै हतियार विकास गरेर निशाना बनाउनु पर्छ र हामीले यो कुरा अहिले पनि गर्न सक्छौं ।’यसअघि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथि हमला गरे ‘रुसले गम्भीर राजनीतिक एवं आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका थिए ।मंगलबारदेखि लात्भियाको राजधानी रिगामा आयोजित नेटो राष्ट्रका विदेशमन्त्रीको २ दिने बैठकमा समेत युक्रेनी सीमामा रुसको बढ्दो सैन्य उपस्थितिबारे छलफल हुने छ ।