मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १५, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

१५ मंसिर, चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करीब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घूस नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस