१५ मंसिर, सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।बैठकमा एमालेका कोही पनि सांसद सहभागी छैनन् । यसअघि मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै बुधबारका लागि सारिएको थियो । तर बुधबार पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी भएनन् ।बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताए ।‘उहाँहरुको पनि भरोसा र सद्भावना देखियो, उपस्थिति नहुनु पनि समर्थन हो’ उनले भने ।कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताए ।
‘प्रमुख प्रतिपक्षीलाई बाहिर राखेर सदन सञ्चालन गर्ने हाम्रो मनसाय होइन । तर हामीसंग संवैधानिक बाध्यता छ, मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । आज ३० दिन पुगेको छ’ उनले भने ।


