विरगंज । मंसिर १६ गते ।
सुनको अवैध कारोबार गरी अकूत सम्पत्ति जोड्न सफल एक व्यक्ति नेपाल र भारत दुबै देशको नागरिक भई दुईटै देशलाई ठगी गरिरहेको जानकारीमा आएको छ ।
भारतको बिहारमा बच्चा साह र नेपालमा राम नरेश साह सोनारको नामले मतदाता नामावली, नागरिकता लगायतका राष्ट्रिय परिचय पत्र लिएर नेपाल र भारत दुबै देशको सरकार र प्रशासनलाई झुक्याउन सफल भएका छन् ।
पंचायत आम निर्वाचन नामावली, २०२१ (बिहार)मा बच्चा साह नाम उल्लेख रहेको छ भने पर्साको वीरगंज मनपा ठेगाना राखी मतदाता नामावलीमा राम नरेश साह सोनार नाम उल्लेख गरी, पर्सा जिल्लाबाट नगरिकता समेत लिई निर्वाध रुपले अवैध सुन लगायतका दुई नम्बरी धन्दा गरेर भारततिर कमाएको अवैध सम्पत्ति नेपालमा लुकाउने र नेपालमा कमाएको अवैध सम्पत्ति भारतमा लुकाउने गरेको श्रोतले जनाएको छ ।
बहुरुपीया बच्चा उर्फ राम नरेश सर्राफले वीरगंजमा सानो समयमै अवैध रुपमा कमाएको सम्पत्तिबाट अरबौंको सम्पत्ति जोड्न सफल भएको छ। सुन पसल, मनि ट्रान्सफर र मनि चेन्जरको आडमा सुन तस्करी, हुण्डी कारोबार एवं बेलाबखतमा भारतीय जाली नोट समेतको अवैध कारोबार गरेर सानो समयमै अकूत सम्पति जोड्न सफल भएपछि बच्चा उर्फ राम नरेश सोनारले आफूमाथि नेपाल या भारतको कुनै पनि निकायले कारवाही गर्न नसक्ने दाबी गर्छन् ।
पर्साका यस अघिका प्रहरी अधिकारी एवं स्थानीय प्रशासनका केही व्यक्तिलाई खरिद गर्न सफल भएपनि सर्राफको दोहोरो नागरिकता र अवैध कारोबार सम्बन्धि सूचना गृहमन्त्रालयसम्म पुगेकोले निकट भविष्यमै फन्दामा पर्ने देखेपछि गृहमन्त्रीसम्म सेटिङ्ग मिलाइदिने विचौलिया लिएर दौडधूप गरिरहको विश्वस्त सूत्रबाट जानकारी हुन आएको छ ।
पैसा र शक्तिको आडमा नेपालको प्रशासनिक निकायका प्रमुखलाई खरीद गर्ने र आफूले नेपालमा अवैध कारोबार गरि सरकारी राजश्व चुहावट गरिरहने यस्ता धमिराहरुमाथि राज्यले बेलैमा कारवाही गर्न नसक्दा नियमक निकायमाथि समेत प्रश्न चिन्ह खड़ा भएका छन् ।


