कृष्ण तिवारी ।
मंसिर १८ गते, रौतहट ।
रौतहटको एक सामुदायीक विद्यालयमा गर्भमै रहेको बालक २ कक्षामा र ३ वर्षको मात्र एक छात्रा ४ कक्षामा अध्ययनरत रहेको फेला परेको छ ।
सामान्यता कुनै पनि बच्चा कम्तिमा ३ वर्षपछि मात्र विद्यालय जान सक्ने उमेरको हुन्छन तर रौतहटको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुरको माध्यमिक विद्यालयमा जम्मा ३ वर्षको मात्र बादल कुमारी भण्डारी नामको छात्रा ४ कक्षामा अध्ययनरत रहेको पाइएको छ ।
गत वर्ष ३ कक्षामा पढेकी बादल कुमारी यसवर्ष ४ कक्षामा अध्ययनरत रहेको विद्यालयको रजिष्टरमा उल्लेख रहेको छ ।
त्यस्तै सोही विद्यालयमा आमाको गर्भमै रहेको अर्थात जन्मिनु भन्दा अघि नै राहुल पास्वान नामका बालक २ कक्षामा अध्ययनरत रहेको फेला परेको छ ।
बलक पास्वानको जन्मिनु भन्दा अघि गत वर्ष २ कक्षामा नाम लेखिएको र यसवर्ष ३ कक्षामा अध्ययनरत रहेको विद्यालयको रजिष्टरमा उल्लेख रहेको फेला परेको छ ।
यतिमात्र नभएर विद्यालय प्रशासनले लापरवाहीको चरमसिमा पार गर्दै बुबा, आमा र बाजेको नाम नै उल्लेख नगरी तथा जन्मदर्ता विना नै कयौं विद्यार्थीको नाम एडमिसन गरेको रजिष्टरमा उल्लेख रहेको देखिएको छ ।
गर्भमै रहेको बच्चा २ कक्षामा र ३ वर्षकै छात्रा ४ कक्षामा अध्ययनरत रहेको तथा अभिभावकको नामै उल्लेख नगरी एवं जन्मदर्ता विना नै कयौं विद्यार्थीको नाम एडमिसन गरिएको फेला परेपछि सुन्ने सबैले आश्चर्कित भएका छन भने सोही विषय लिएर विद्यालयमा अहिले खैलाबैला समेत मच्चेको छ ।
विसुनपुर्वा मानपुरका वडा अध्यक्ष रामदेनी मुखियाले विद्यालयका प्रधानाध्यापक राजेश यादव व्यवस्थापन समितिको अध्यक्षमा आफना पक्षका व्यक्तिलाई जिताउन फर्जि विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन ।
प्रधानाध्यापक यादवले मंसिर २३ गते हुन लागेको व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्ष पदमा आफना पक्षधरका व्यक्तिलाई जिताउनका लागि विद्यार्थीको बहुमत पुरयाउन हतार गर्दै बलजबरजस्ती फर्जि विद्यार्थी भर्ना गरेको वडा अध्यक्ष मुखियाले बताए ।
आफना पक्षका विद्यार्थीको संख्या धेरै भए मत पनि बढने र अध्यक्षमा जितन सहज हुने भएकोले विना जन्मदर्ता एवं अभिभावकको आफना मनोमानी तरिकाले प्रधानाध्यापक यादवले विद्यालयमा नक्कली विद्यार्थी भर्ना गरेको उनको आरोप छ ।
फर्जि भर्ना गरिएका विद्यार्थीहरुको नाम नसच्यायसम्म कुनै पनि हालतमा निर्वाचन हुन नदिने वडा अध्यक्ष मुखियाले चेतावनी दिएका छन ।
त्यस्तै फर्जि विद्यार्थीको बारेमा आफुलाई केही थाहा नभएको प्रधानाध्यापक यादवले बताएका छन ।
आफु २०७८ बैशाखमा हाजिर भएको र हाजिर भएदेखी कुनै पनि फर्जि विद्यार्थीलाई भर्ना नगरेको उनले बताए ।
फर्जि भनिएका उक्त विद्यार्थीहरुको नाम २०७७ साल भन्दा अघि नै दर्ता भएकोले यस सम्बन्धमा आफुलाई जानकारी नभएको उनले बताए ।
फर्जि विद्यार्थी बारे आफुले सत्यतथ्य पता लगाइरहेको र फर्जि फेलापर्ने विद्यार्थीहरुलाई नाम हटाउने प्रधानाध्यापक यादवले प्रतिवद्धता जनाएका छन ।
विसुनपुर्वा मानपुरमा गर्भमा रहेको बालक २ कक्षामा र ३ वर्षको मात्र छात्रा ४ कक्षामा पढ्दै ।


