कृष्ण तिवारी
मंसिर २० गते, रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा व्यापक रुपमा भ्रष्टाचार बढेको भन्दै सोमवार विरोध प्रदर्शन गरिएको छ ।
नगरपालिका कार्यालय भित्रका सबै खाले भ्रष्टाचार र अनियमितता विरुद्ध नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुका साथै स्थानीय बासिन्दाहरुले सोमवार नगरपालिका कार्यालय घेराउ गर्दै नारावाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका छन ।
नगरपालिकाको शिक्षा क्षेत्रमा करोडौं भ्रष्टाचार भएको भन्दै उनिहरुले भ्रष्टाचारीलाई कार्यवाही गर्नुपर्ने लगाएतका माग राखेर सोमवारदेखी विरोध प्रदर्शनमा उत्रेका छन ।
नगरपालिकामा भएको भ्रष्टाचारको छानविन गर, भ्रष्टाचारीलाई कार्यवाही गर, भ्रष्टाचार गर्न पाइदैन, नगरपालिकाको सम्पुर्ण हिसाव किताव सार्वजनिक गर, प्रहरी दमन बन्द गर लगाएतका नारावाजी गर्दै उनिहरु नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन ।
भ्रष्टाचार रहित नगरपालिका हाम्रो चाहाना, सुशासन समृद्ध नगरपालिका सबैको कामना भन्ने नाराका साथ उनिहरुले प्रदर्शन गरेका हुन् ।
यसैविच नगरपालिकामा भइरहेको भ्रष्टाचारको विरोध गर्दा आइतवार इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले नेकपा माओवादीका मेयरका प्रत्याक्षी सुरेन्द्र यादवलाई ४ घण्टा थुनामा राखेका थिए ।
भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा प्रहरी निरीक्षक विश्वकर्माले मेयर प्रत्याक्षी यादवलाई नियन्त्रणमा लिएर ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले प्रहरी प्रशासन विरुद्ध समेत चर्को नारावाजी गरेका थिए ।
फतुवा विजयपुर नगर शिक्षा संयोजक हरेन्द्र यादव संग शिक्षा सम्बन्धी विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाको बेतिथि बारे सोधपुछ गर्दा प्रहरीले आफू र भाई नवलकिशोर यादव लाई बिनाकारण थुनेर बेईजती गरेको मेयर प्रत्याशी यादवले गुनासो गरेका छन ।
उता नगरपालिकाका कार्यालयमा गएर शिक्षा संयोजक हरेन्द्र यादवलाई हातपात भएको सूचनाको आधारमा तत्काल शान्ति सुरक्षाको लागि मेयर प्रत्याशी सुरेन्द्र यादव र उनका भाई नवलकिशोर यादव लाई केही समयको लागि मात्र नियन्त्रणमा लिएको र पछि छोडिएको ईन्स्पेक्टर विश्वकर्माले जानकारी दिए ।
शिक्षा संयोजक हरेन्द्र यादवले गत आर्थिक वर्षमा विद्यार्थी लाई भर्चुअल शिक्षा दिने नाउँमा नगरपालिका बाट २९ लाख रुपैयाँ पेस्की स्वरुप निकासा गरेको त्यसको हालसम्म फर्छौट गर्न नसकेको मेयर प्रत्याक्षी यादवले बताए ।
त्यसैगरी बालिकाहरुलाई सेनिटरी प्याड वितरण गर्न गत आर्थिक वर्षमा झन्डै १७ लाख रुपैया निकासा भएको थियो ।
तर हालसम्म कुनै विधालयको बालिकालाई सेनिटरी प्याड बितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक,मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने मेयर प्रत्याशी यादवले माग गरेका छन ।
फतुवा बिजयपुर नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गत आवमा नगरपालिका बाट भर्चुअल शिक्षा र सेनिटरी प्याड बितरणको लागि बर्तमान शिक्षा संयोजक हरेन्द्र यादव र यस अघिका संयोजक बुनिलाल यादवले लिएको पेस्की हालसम्म फर्छौट नभएको स्वीकार गरेका छन ।
नगरक्षेत्र भित्र कार्यरत शिक्षक मध्येका कसैले नगर शिक्षा संयोजकको जिम्मेवारी पाउनुपर्ने नियम विपरित फतुवा बिजयपुरका मेयर गोपाल यादवले आफ्ना नजीकका वडा सचिव हरेन्द्र यादवलाई गतबर्ष शिक्षा संयोजक तोकेदेखी नै शिक्षा क्षेत्रमा बेथिति बढेको गुनासो सुनिदैं आएको छ ।
शिक्षा क्षेत्रमा करोडौं भ्रष्टाचार भएको भन्दै फतुवा विजयपुरमा विरोध प्रदर्शन


