ओम प्रकाश यादव
गरुडा समाचारदाता
मंसिर २४ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाको सभाहलमा शुक्रवार लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा न्युनिकरणको लागि किशोरी शिक्षा विषयक बहस तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
माधवनारायण नगरपालिकाको आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा उक्त एक दिने लैंगिक हिंसा न्युनिकरणको लागि किशोरी शिक्षा विषयक बहस तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पालिकामा लैंगिक हिंसाको वर्तमान अवस्था, लैंगिक हिंसा अन्त्य गर्ने उपाय, पालिकालाई लैंगिक मुखी बजेट निर्माण गर्न उत्प्रेरीत गर्ने लगाएतको विषयमा केन्द्रित रहेर छलफल गरिएको छ ।
माधवनारायण नगर प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख सिमल साह लगाएत अन्य सहभागीहरुले शिक्षा र चेतनाको कमीका कारण यहाँ दिनहु विभिन्न प्रकारका महिला एवं घरेलु हिंसाका घटनाहरु भइरहेको बताएका थिए ।
नगर उपप्रमुख साहले परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेको बताएकी छन् । उनले भनिन आज भोलि घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ, ।
आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वञ्चित रहेको उनले बताइन ।
खासगरी दाइजोप्रथाका कारण महिलामाथि अत्याधिक हिंसा हुने गरेको उनले भनिन ।
उपमेयर साहले अघि भनिन तराईमा त परम्परा र लोकलाजका कारण धेरैजसो दाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन्, तसर्थ घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा दहेजका कारण हुने हिंसाका घटना बाहिर आउँदैनन् ।
दाइजोको कारण परिवारबाट हिंसाको शिकार बन्नुपर्दा महिलाले ज्यानै गुमाएका घटनाहरू पनि बेला बखतमासार्वजनिक हुने गरेको बताउँदै उनले दहेजका कारण महिलालाई घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथा मानसीक यातना दिने गरेको बताए ।
लैंगिक हिंसा न्युनिकरणका लागि नगरपालिकाले समय समयमा नाटक लगाएत जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको र आउने दिनमा समेत यस्ता यस्ता कार्यक्रमहरु गर्ने उनले बताइन ।
कार्यक्रममा बोल्दै शिक्षिका जमुना साहले बोक्सीको आरोपमा समेत महिलाहरुलाई विभिन्न यातना भोग्नु परिरहेको बताएकि छन ।
बोक्सीको आरोप लाग्नेहरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकारहुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमा पनि एकल महिलाहरू बोक्सीको आरोपमा प्रताडित हुने गरेको शिक्षिका साहले बताइन ।
रूपले सुन्दर, पढेलेखेका, र सुखीसम्पन्न परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण नरहेको बताउँदै उनले भनिन समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन ।
महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको हामी सबैले मिलेर अन्त्य गनुपर्ने उनले बताइन ।
त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताइन ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीयालाल यादवले नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको बताएका छन ।
आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको उनले बताए । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन उनले भने घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्ववाट विमुख हुनु परेको उनले बताए ।
उनले अघि भने शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन्, हिंसा घरैबाट उत्पन्न हुने गरेको छ, यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ ।
पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन नभएका कारण महिलालाई विभिन्न हिंसाको सिकार हुनु परेको उनले धारणा राखे ।
महिलाले दाईजो नल्याएका कारण यातनासहनु परेको उदाहरण थुप्रै भइसकेका छन् ।
बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन र ओसारपसार, यौन शोषण लगायतका हिंसाले यहाँको समाज अछुतो नरहेको बताउँदै प्रशासकीय अधिकृत यादवले हिंसाका विरूद्ध जवसम्म प्रभावकारी कानून लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्न नसक्ने बताए ।
महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि नगरपालिकाले विभिन्न संघ संस्थाहरू मार्फत जनचेतना जगाउने देखी लिएर अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको उनले बताए ।
कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वंमसेविका, शिक्षक, शिक्षिका, किशोर, किशोरी गरी ४० जनाले सहभागिता जनाएका थिए भने कार्यक्रम सञ्चालन आसमान नेपालकी कार्यक्रम संयोजक जमुना श्रेष्ठले गरेकी थिइन ।
माधवनारायणमा लैंगिक हिंसा न्युनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न


