ओम प्रकाश यादव
मंसिर २७ गते, रौतहट ।
तलवभत्ता पाउनुपर्ने माग राख्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरु आन्दोलन गर्ने भएका छन ।
विगत पाँच महिनायता तलव नपाएको भन्दै फतुवा विजयपुर नगर क्षेत्र अन्तर्गत रहेका सम्पुर्ण सामुदायीक विद्यालयका शिक्षक, बालविकास शिक्षिका र कर्मचारीहरु सोमवार नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
विगत साउनदेखी नै सो नगरपालिका अन्तर्गत रहेका माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी २९ वटा विद्यालयमा कार्यरत दुई सयभन्दा बढी शिक्षक, शिक्षिका, बालविकास शिक्षिका र कर्मचारीहरु तलवभत्ता पाउन सकेका छैनन ।
सरकारद्धारा हालै वृद्धि गरिएको तलवभत्ता पाउनुपर्ने माग राख्दै आफुहरु नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक सुबोध यादवले बताए ।
मंसिर २८ गतेसम्म तलवभत्ता निकासा गर्न शिक्षकहरु नगरपालिकालाई अल्टिमेटम दिएका छन । २८ गतेसम्म पनि आफुहरुको माग पुरा नभए २९ गतेदेखी चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मंसिर २९ गते कालोपटी बाँधेर पठन पाठन गराउने, पुष १ गते नगरपालिका कार्याय अगाडि धर्ना दिने, २ गते नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्ने र त्यसबाट पनि आफुहरुको माग पुरा नभए ३ गते नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने निर्णय उनिहरुले गरेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
माविमा कार्यरत कर्मचारीको हालको तलव ११ हजार ५ सय र वृद्धि भएको तलव ९ हजार गरी जम्मा २० हजार ५ सय, बालविकास शिक्षिकाको ६ हजारबाट १५ हजार उपलब्ध गराउनुपर्ने उनिहरुको माग छ ।
नगरपालिकाका जनप्रतिनिधिहरु आफुहरुको तलव निकासा गर्न कुनै चासो नलिएको कारण आफुहरु विगत साउनदेखी नै तलव खान नपाएको शिक्षकहरुको गुनासो छ ।