राैशन चाैधरी । पुष ०३ गते । रौतहट प्रहरीले स्रोत नखुलेको साढे चार लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनियाबाट नेपालको रौतहट सदरमुकाम गौरतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको रकम बोक्ने भारतीय युवकलाई रकमसहित रौतहट प्रहरीले पक्राउ गरेको हो। गौर नगरपालिका १ स्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारीसाधन तथा पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा बीआर ३० एबी २६५७ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा एयर फिल्टरभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया साढे चार लाख बरामद भएको छ। मोटरसाइकल चलाइरहेका भारत बैरगनियाका १९ वर्षीय युगक विकास कुमार पासवानलाई रौतहट प्रहरीले नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएपछि रौतहट प्रहरीले मोटरसाइकल र नगद तथा पासवानलाई पनि गौर भन्सारमा बुझाएको छ। अन्य पक्षबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्रोत नखुलेको साढे चार लाख रुपैयाँसहित भारतीय युवक पक्राउ


