कृष्ण तिवारी
पुष ५ गते, रौतहट ।
टिपरको ठक्करबाट एक जना नेताको मृत्यु भएको विषयलाई लिएर रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमाथी सोमवार ढुङ्गामुढा प्रहार गरिएको छ ।
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै स्थानीयहरुले फतुवा विजयपुर नगरपालिकाको बिजयपुर स्थित रहेको ईलाका प्रहरी कार्यालयमाथी ढुङामुढा प्रहार गरेका छन ।
आइतवार राति जिल्लाको फतुवा विजयपुर नगरपालिका ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नेकपा एमालेका नेता खेदु चौधरीको मृत्यु भएको थियो ।
नेता चौधरीलाई ठक्कर दिने टिपर चालक एवं धनीलाई कार्यवाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्मले उल्टै दोषीलाई बचाउन खोजेको आरोप लगाउँदै पिडित परिवार तथा स्थानीयहरुले आक्रोशित हुँदै प्रहरी कार्यालयमाथी तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेका छन् ।
पीडित परिवार संगै सयौंको संख्यामा गएका प्रदर्शनकारीहरुले विजयपुरमा प्रदर्शन गर्दै विहान ११ बजेको समयमा प्रहरी कार्यालय माथी आक्रमण गरेका थिए ।
ढुङ्गा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन भने प्रहरीले गरेको लठी प्रहारबाट एकजना स्थानीय मुक्ति पटेलको टाउको फुटेको छ ।
स्थानीयहरुले प्रहरी कार्यालयमाथी ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले रोक्न जोज्दा प्रहरी र स्थानीयबीच केहीबेर झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरेको विजयपुरका इन्स्पेक्टर विष्णु विश्वकर्माले बताएका छन ।
दोषीलाई पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरि पोष्टमार्टमको लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर विश्वकर्माले मनपरि गरेको आरोप लागेको छ । तर आफुले मनपरी नगरेको प्रहरी निरीक्षक विश्वकर्माको दावी छ ।
ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक विश्वकर्माले सन्तपुर फतुवा विजयपुर सडकखण्डमा दैनिक जसो तिब्रगतिमा कुदाउने टिपरको कहिलै वास्ता नगर्ने गरेकाले यस्तो घटना भएको प्रदर्सनकारिहरुले बताएका छन ।
रौतहट प्रहरी उपरीक्षक बिनोद घिमिरेले घटनाको स्वीकार गर्दै नेता चौधरीलाई ठक्कर दिने टिपरको चालक पक्राउ परिसकेकाले नियमानुसार कार्यवाही हुने बताएका छन ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका कारण विजयपुर बजारको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।
आइतबार राति साढे ८ बजेको समयमा बालुवा गिट्टी लिएर बाराको कोल्हवीबाट रौतहटको जंगलसहिया तिर तिव्रगतिमा जांदै गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरले कुल्चिएर मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै फरार भएका टिपर चालकलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।
रौतहटमा प्रहरी कार्यालयमाथी ढुङ्गामुढा, दुई प्रहरी सहित तिन जना घाइते, ३ सेल अश्रुग्यास प्रहार


