सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि अझै संक्रमितको सङ्ख्या तीव्रगतिमा बढ्न सक्ने बताए । नेपालमा हालसम्म २७ जना कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ । संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।
यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूर्ण अवस्था सृजना हुनसक्ने रातोपाटीलाई बताए । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको सङ्ख्या पनि बढ्दै गएको उनले बताए ।अस्पतालमा पिसिआर परीक्षण गर्ने, उपचार गर्न आउने बढेका भएपनि गम्भीर खालका बिरामीको चाप भने नरहेको उनको भनाइ छ ।