कृष्ण तिवारी
पुस ३० गते, रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियाका बालचन रायको छोरा मुवालाल रायको नाममा २ कट्ठा भन्दा बढी जग्गाको मोही नामसारी पास भएको छ ।
भुमि सुधार तथा मालपोत कार्यालय रौतहटले किता नं १४८, १७७ मा रहेको २ कट्ठा १२ धुर जग्गा मुवालाल रायको नाममा नामसारी गर्ने फैसला गरेको हो ।
वि.सं. २०२१ सालमा मुवालालका काका झगरु राय र झगरुकै दाजु बालचन राय दुबै दाजुभाईले उक्त जग्गाको मोही आ आफना नाममा पास गर्न पाउनुपर्ने भन्दै एक अर्का माथी भुमि सुधार तथा मालपोत कार्यालय गौरमा मुद्दा दायर गरेका थिए ।
झगरु र बालचन दुबै जना दाजुभाई भएपनि उक्त जग्गाको मोही कट्टा र मोही नामसारीका लागि उनिहरुले अलग अलग लगत भरेको भुमि सुधार तथा मालपोत कार्यालय गौरले जनाएको छ ।
दुबै दाजुभाई अलग अलग लगत भरेको, स्थानीय बालदेवको नमरी मैले जोतेको छु भनी बालचन रायले फिल्ड बुकमा लेखेको, वडा कार्यालयले समेत उक्त जग्गा सुरुदेखी नै मोहीको जोतभोगमा रही आएकोले बालचन रायकै छोरा मुवालालकै नाममा नामसारी गर्न किटानी सिफारीस गरेको, भुमि सुधार तथा मालपोत कार्यालयबाट गरिएको सरजमिनमा समेत उक्त जग्गा मोही वालाकै जोतभोगमा रही सरजमिन भइ आएको र जग्गा धनी प्रमाण पुर्जामा मोहीको नाम हालसम्म उल्लेख भएको आधारमा उक्त जग्गा बालचन रायको छोरा मुवालाल रायको नाममा नामसारी गरेको भुमि सुधार तथा मालपोत कार्यालय रौतहटले जनाएको छ ।
नियम संगत उक्त जग्गा झगरु रायको नाममा नामसारी गर्न नमिल्ने भएपछि कानुन अनुसार मुवालाल रायको नाममा नामसारी पास गरिदिएको भुमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख राम कृष्ण उप्रेतीले बताएका छन ।
कानुन सम्वत रुपमा नै उक्त जग्गा मुवालाल रायको नाममा नामसारी गरेको कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले दावी गरेका छन ।
आफुले एन कानुन र विभिन्न प्रमाणको आधारमा मुवालालको नाममा मोही पास गरेको भएपनि केही सञ्चार माध्यममा राम कृष्ण उप्रेतीले अनाधिकृत रकम लिएर मुवालालको नाममा उक्त जग्गा पास गरेको भनी भ्रामक खबर प्रकाशन प्रसारण भएको प्रति कार्यालय प्रमुख उप्रेतीले आपत्ति जनाएका छन ।
मुवालालको पक्षमा उक्त फैसला गर्न आफुले कसैसँग एक रुपैया पनि थप दस्तुर नलिएको बताउँदै कार्यालय प्रमुख उप्रेतीले आफुलाई बदनाम गराउन केही मानिसले भ्रमपुर्ण समाचार प्रसारण र प्रकाशन गर्न लगाएको बताएका छन ।
जग्गा रजिस्ट्रेसन , मोही नामसारी , मोही लगत कट्टा सहितको काम गराउन आउने सेवाग्राहीसँग सरकारी दस्तुर भन्दा एक रुपैया पनि अतिरिक्त रकम नलिने गरेको भन्दै उनले यस्ता भ्रामक र गलत खबरको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन ।
लेखनदास तथा बिचौलिया मार्फत कार्यालय प्रमुख उप्रेतीले प्रति कठ्ठाको दरले रकम लिने गरेको भनी आफुमाथी लगाइएको आरोप सरासर गलत र वहियात रहेको उनले बताए ।
आफुले कुनै पनि लेखनदास तथा बिचौलिया मार्फत सरकारी दस्तुर भन्दा एक रुपैया पनि थप दस्तुर नलिएको कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले प्रष्ट पारेका छन । ्
कार्यालय प्रमुख उप्रेतीले कर्मचारीको अभाव रहेको अवस्थामा कामको बढी चाप भएको कारण आफना नाम बदनाम गर्ने उदेश्यले भ्रम फैलाउने कार्य भइरहेको दाबी गरेका छन ।
३० गते भित्रमा मोही बाँडफाँट गर्नु पर्ने मन्त्रालयको निर्देशन रहेकोले मोहीको हक स्थापित गर्ने कार्य गरेको उनले बताए । मोहीयानी मुद्दामा राजनीतिक दवाव पनि आउने गरेको बताउंदै प्रमुख उप्रेतीले सरकारी दस्तुर भन्दा बढी रकम कसैले मागे म समक्ष उजुरी गर्न सेवाग्राहीहरुलाई आग्रह गरे ।
उनले कार्यालयका कर्मचारी, लेखापढी गर्ने व्यक्तिले काम गराउन बढी रकम मागेमा नदिन सुझाव समेत दिएका छन् ।
यसैविच मुवालाल रायले आफनै गाउँ सन्तपुर दोस्तियाका नेकपा एमालेका नेता विजय यादव निर्विजले मुवालालले मालापोतका हाकिमलाई मोटो रकम दिएर आफना नाममा मोही जग्गा नामसारी गराएको भनी लगाएको आरोपलाई खण्डन गरेका छन ।
यादवले पुर्व मन्त्री प्रभु साहको इशारामा बलजबरजस्ती मालपोतका प्रमुखलाई झगरु यादवको छोरा लुटन राय यादवको नाममा मोही पास गर्न दवाव दिएको र लुटनको नाममा जग्गा पास गर्न नियमले नमिलेपछि एमाले नेता विजय यादवले रकमको चलखेल गरी मालपोतका प्रमुख उप्रेतीले मुवालालको नाममा जग्गा पास गरेको भनी आफु र मालपोतका प्रमुख उप्रेतीलाई बदनाम गराउन झुठा भ्रम फैलाउने काम गरेको मुवालाल रायको दावी छ ।
आफु सो जग्गाका लागि मालपोतका प्रमुख उप्रेती र वा कार्यालयका कुनै पनि कर्मचारी लाई एक रुपैया पनि घुस नदिएको उनले प्रष्ट पारेका हुन ।