रौतहट । माघ १३
रौतहटमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । विभिन्न दुई सवारी दुर्घटनामा रौतहटमा तीन जनाको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको गरुडा नगरपालिका ४ मा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ वरियारपुरका १९ वर्षीय महम्मद अल्ताफ र २५ वर्षीय रबि साहको मृत्यु भएको प्रहरीको भनाइ छ । साहले चलाइरहेको ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको बताएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यसैगरी, फतुवा विजयपुर नगरपालिका ९ मा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ । नयाँ ट्रयाक्टर किनेर ल्याएको र ट्रयाक्टर धनी मनोज यादवले आफैँले चलाउन खोज्दा आफ्नै भाइ सनोज यादवका ४ वर्षीय छोरा यश यादवको किचिएर मृत्यु भएको हो ।
आफ्नै भाइको छोराको आफैँले चलाएको सवारीले मृत्यु भएपछि मनोज फरार भएका छन्। फरार यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।