राज कुमार यादव । माघ २९। रौतहट ।
रौतहटको मौलापुरमा हरेक वर्षको जस्तै यसवर्ष पनि मधानी महायज्ञ हुने भएको छ भने मधानी महायज्ञ विशेष समारोह २०७८ को तयारी पुरा भएको छ।
पर्यटन प्रवरेद्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले हरेक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ।
शनिबार मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले मधानी महायज्ञ विशेष समारोहको आयोजना गर्ने जानकारी गराएको छ।
महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बताईन्।
महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञको मुल समारोहको उद्घाटन फागुन १७ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछ भने कार्यक्रममा विभिन्न मन्त्रीहरु तथा व्यक्तित्वहरुको उपस्थिति रहने मौलापुर नगरपालिकाले जनाएको छ।
सोही दिन उद्घघाटन लगत्तै हुने सांस्कृतिक कार्यक्रममा भारतका भोजपुरी सिनेमा जगतका सुपरस्टार कलाकार खेसारी लाल यादव, अभिनेत्री रानी चटर्जी, नेपाली सिनेमाका प्रख्यात कलाकार राजेश हमाल लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको जोडदार प्रस्तुति रहने मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।
उक्त पत्रकार सम्मेलनमा नगर उपप्रमुख गौरीशंकर साह,नगर शिक्षा शाखा प्रमुख चन्देश्वर साह,सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश साह,नेकपा एमाले रौतहटहका जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह,फतुवा विजयपुर नगरपालिकाका नेकपा एमालेका नगर संयोजक विजय यादव निर्विज सहित विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीहरु,पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।