ओम प्रकाश यादव
चैत्र १८ गते, रौतहट ।
लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष संजय कुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेस गरेका छन् ।
प्रदेश १ को राजधानी विराटनगरमा विहिवार साँझ अबेर आयोजित एक कार्यक्रमका बीच अध्यक्ष यादवले लोसपा परित्याग गरी जसपामा प्रवेस गरेका छन् ।
रौतहटको दुर्गाभगवती गाउँपालिकाको छतौना घर भएका यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन ।
लोसपाका मधेश प्रदेश अध्यक्ष संजय यादवले नै पार्टी परित्याग गरी जसपामा प्रवेश गरेपछि उनको गृह जिल्ला रौतहट सहित मधेश प्रदेशमा लोसपालाई ठुलो झटका लागेको संकेत गरिएको छ ।
मधेश र मधेशी जनताको अधिकार दिलाउनका लागि स्थापना भएको लोसपा पछिलो समय मधेशको माग एवं मुद्धालाई नै विर्शेर नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको पछि लागेकाले आफु पार्टी परित्याग गरी जसपामा प्रवेस गरेको अध्यक्ष यादवले बताए ।
ओलीको पछि लागेका लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कहिल्यै मधेशी जनताको अधिकार एवं पहिचान दिलाउन नसक्ने उनले बताए ।
मधेशी, थारु, आदिवासी, जनजाती, मुश्लिम लगाएत जातजातिको हक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको एक मात्र पार्टी जनता समाजवादी पार्टीले नै मधेशी जनताको अधिकार दिलाउन सक्ने भएकोले आफु जसपामा लागेको उनले बताए ।
लोसपाका मधेश अध्यक्ष यादवलाई पार्टीमा ल्याउन जसपाका नेता एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले महत्वपुर्ण भूमिका खेलेका थिए ।
सोही कार्यक्रममा रौतहटको माधवनारायण नगरपालिका वडा नं ७ लौकाहाका निर्वाचित वडा अध्यक्ष दिलिप कुमार यादव पनि जनता समाजवादी पार्टी नेपालमा प्रवेस गरेका छन ।
२०७४ सालमा भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष यादवले एमाले परित्याग गरी जसपामा प्रवेस गरेका छन ।
उनलाई पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन ।
कृषि राज्य मन्त्री योगेन्द्र यादवको सकृयातामा पछिलो समय रौतहटमा विभिन्न पार्टी परित्याग गरी निर्वाचित वडा अध्यक्ष देखी लिएर मेयर, उपमेयर, वडा अध्यक्षका प्रत्याक्षी सहित नेता कार्यकर्ताहरु धमाधम जसपामा प्रवेश गर्न थालेका छन ।
राज्य मन्त्री यादवको पहलमा रौतहटमा अहिले सम्म तिन जना निर्वाचित वडा अध्यक्ष र जर्दनौ वडाका प्रत्याक्षीहरु जसपामा प्रवेश गरिसकेका छन ।
लोसपा परित्याग गरी माधवनारायण नगरपालिका ६ माधोपुरका वडा अध्यक्ष राजिव कुमार यादव, सोही नगरपालिका ७ लौकाहाका वडा अध्यक्ष दिलिप यादव सहित राजदेवी नगरपालिका ७ मुडबलवाका पनि वडा अध्यक्ष जसपामा प्रवेश गरिसकेका छन ।
सोही कार्यक्रममा बोल्दै कृषि राज्य मन्त्री यादवले जसपा नेपाल देशको वैकल्पिक शक्ति बन्दैछ, त्यसमा सबैलाई गोलबन्द हुन आग्रह गरेका हुन ।
देशमा परिवर्तनका लागि संघर्ष गर्दै आएको जसपा नेपालको संघर्षले नेपालमा संघीयता सम्भव भएको हुनाले त्यसलाई संस्थागत गर्न र बलियो बनाउन अझ संघर्षको आवश्यकता रहेको उनले बताए ।